OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १५, २०८०काठमाडौं
३०९ पटक

१४ बैशाख २०८०, बिहीबार

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जनस्वास्थ्य विषयमा लिएको लाईसेन्स परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शतप्रतिशत सफल नतिजा प्राप्त गरेको छ ।

परिषद्ले यही बैशाख १३ गते लिएको ब्याच्लर ईन पब्लिक हेल्थ (बिपिएच) विषयको छैटौं नाम दर्ता (लाईसेन्स) परीक्षामा प्रतिष्ठान जुम्लामा जनस्वास्थ्य विषयमा अध्ययनरत शतप्रतिशत परीक्षार्थी सफल भएका हुन् । देशभरिबाट तीन सय ३२ जना परीक्षार्थीहरु लाईसेन्स परीक्षामा सामेल भएपनि कुल एक सय ८० जना (५४.२२ प्रतिशत) मात्र पास भएका छन् ।

उक्त परीक्षामा एक सय ५२ जना फेल भएको व्यवसायी परिषद्अन्तरगतको परीक्षा समितिले सूचना प्रकाशन गरी जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सहभागी १७ परीक्षार्थी दिएकको उक्त परीक्षामा सबै सफल भएको प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो । प्रतिष्ठानबाट उत्पादित जनशक्ति मुलुकमै अब्बल रहेको दावी उहाँले गर्नुभयो ।

“हामी दावाका साथ भन्न सक्छौं कि मुलुकको राम्रो मध्येको जनशक्ति हाम्रो पनि छ,” उपकुलपति डा.रावलले भन्नुभयो, “प्रतिष्ठानले शिक्षामा कायम गरेको गुणस्तरले सक्षम जनशक्ति उत्पादन गरिरहेको छ ।” अहिले ब्याच्लर ईन नर्सिङ (बिएन)को अध्ययन अध्यापन कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिष्ठान जुम्ला स्कुल अफ पब्लिक हेल्थका डीन प्राडा.मनिराज क्षेत्रीले अध्यापन र अध्ययनमा शिक्षक एवं विद्यार्थी दुवैको लगाव हुनुले राम्रो नतिजा आएको बताउनुभयो । डीन पहाडीले भन्नुभयो, “उत्कृष्ट कार्य गर्न भौगोलिक विकटता र दूरीले फरक पार्दैन । त्यसका लागि जो कोहीसँग इच्छाशक्ति र दृढ संकल्प हुनुपर्दछ । यसमा व्यवस्थापन, राजनीतिक तह, शिक्षक, विद्यार्थी, प्रेस जगत सबैको उत्तिकै हात छ ।”

परीक्षार्थी सृजना महतले प्रतिष्ठान व्यवस्थापन र शिक्षकहरुको भूमिकाले आफूहरु सफल भएको बताउनुभयो । दुर्गम भनेर हेपिएको कर्णालीमा अहिलेको नतिजाले अध्ययनका लागि कर्णाली जानुपर्छ भन्ने राम्रो सन्देश दिएको र चाहाना भएकाहरुलाई पनि कर्णाली अध्ययन गर्न जानुपर्छ भन्ने बलियो विश्वास जगाएको उहाँको भनाई थियो ।

परिषद्ले देशैभर चिकित्सा एवं स्वास्थ्य क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेका विभिन्न विषयमा आठ सय ५० जनाको नाम दर्ता (लाईसेन्स) परीक्षा लिएको थियो । जसमा तीन सय ६८ (४३.२९ प्रतिशत) परीक्षार्थी उत्तीर्ण तथा चार सय ८२ परीक्षार्थी अनुत्तीर्ण भएका नतिजा प्रकाशन गरिएको थियो । त्यस्तै, स्नातकोत्तरतर्फ नौ सय ३७ परीक्षार्थी लाईसेन्सको परीक्षामा सामेल भएकोमा तीन सय ९६ (४२.२६ प्रतिशत) परीक्षार्थी पास भएको जनाइएको छ ।

चिकित्सकीय सेवा, शिक्षा र अनुसन्धानमूलक कार्यहरुहरुमा बढोत्तरी हुँदै गएपछि र प्रतिष्ठानबाट उत्पादित जनशक्तिको नतिजा राम्रो हुँदै जाँदा पछिल्लो समय भौगोलिक विकटता र दुर्गमता असफलता मानक होइनन् र उत्कृष्टता हाँसिल गर्ने बाधक हुन सक्दैनन् भन्ने यसले गतिलो सन्देश दिएको छ । जसका कारण शिक्षा लिन र सेवा गर्न आउने दुवै खाले जनशक्तिका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आकर्षणको थलोमा रुपान्तरित भएको छ ।

प्रतिकृया दिनुहोस्