OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ८, २०८०सुर्खेत
१५३ पटक

८ बैशाख २०८०, शुक्रबार

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको प्राथमिकतामा कर्णाली तथा सुदूरपश्चिम प्रदेश रहेको बताउनुभएको छ ।

गृह जिल्ला आउने क्रममा आज सुर्खेत विमानस्थलमा आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री खड्काले विकासका हिसाबले अन्य प्रदेश भन्दा पछाडि पारिएको कर्णाली र सुदूरपश्चिमको विकासमा गठबन्धन सरकारले जोड दिने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनसहितको चुनावी सभामा जाँदै गर्दा बहालवाला प्रधानमन्त्री प्रचण्ड र मैले विकासमा कर्णालीलाई प्राथमिकतामा राख्छौं भनेका थियौं । त्यो प्रतिवद्धता पुरा गर्नेछौं ।”

न्याय तथा कानूमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री खड्काले चुनावका बेला जनताकोको बीचमा प्रकट गरिएका संकल्पलाई केन्द्रमा राखेर कर्णाली प्रदेशको भौतिक विकास, भूगोल अनुकूलको रोजगारीको सृजना र पर्यटकीय विकास आयोजनालाई पालिकासँगै संघीय सरकारको बजेट मिलाएर यहाँको विकासको सपनालाई पुरा गर्ने बताउनुभयो ।

त्यस्तै, लेकबेसी, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको भू–भागलाई जोडेर भेरी नदीको किनारमा वैज्ञानिक, व्यवस्थित एवं आधुनिक आकर्षक शहर निर्माण योजनाले साकार रुप लिएको जनाउँदै उहाँले भेरीगंगा उपत्यकाको नमुना शहरको पहिलो चरणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर केही कामहरु अगाडि बढेको बताउनुभयो ।

नेपाली सेनाले निर्माण गरेको विकासे कामहरुको अनुगमन गरिँने बताउँदै रक्षामन्त्री खड्काले भन्नुभयो, “कर्णाली करिडोरलाई प्रदेशको जीवनरेखा हो । यसको रु.४४ अर्बको डिपिआर तयार भएर अर्थ मन्त्रालयमा गएको छ । म अनि भौतिक निर्माणमन्त्री प्रकाश ज्वाला र ऊर्जामन्त्री शक्ति बस्नेत हामी काममा जुटेका छौं ।”

सबै दृष्टिकोणले पछि परेको प्रदेशको विकास र समृद्धिका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, पार्टी सभापति देउवा र माधव नेपाल समेत सकरात्मक रहेको उहाँले जनाउनुभयो । उहाँका अनुसार चिसापानी जाने सडकमा पुलहरुको निर्माण कार्य पनि अगाडि बढेको छ । थप बजेटको पनि व्यवस्था गरिँदैछ । दश वर्षसम्म बन्न नसकेको रानीघाटको पुलको ठेक्का तोडेर अगाडि बढाईएको छ । फेरी डोटीसँग जोड्ने रु.तीन अरबको बजेट निकासको प्रक्रिया पनि अगाडि बढ्छ ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “सिंगो नेपाली काँग्रेस र अहिलेको गठबन्धन सरकारले कर्णालीको विकासलाई प्राथमिकतामा राखेकोले विकास हुनेमा कुनै शंका छैन । अर्थतन्त्र ऋणात्मक भएको अवस्था छ यद्यपि सुधारोन्मुख अवस्था जाँदैछ । प्रतिवद्धता अनुसार कर्णालीको विकास गरेर देखाउँछौं ।” कर्णाली प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य र संघका सबै सांसदहरु एकाकार भएर यहाँको विकासमा लाग्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्