OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २३, २०७९सुर्खेत
१७२ पटक

 २३ चैत २०७९, बिहीबार

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र केन्द्रीय संगठन विभागअन्तरगत कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका चुनौति र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रम’मा बोल्दै उपमहासचिव एवं संगठन विभाग प्रमुख शर्माले पार्टीले अब समाजवादको स्पष्ट खाकासहित जानुपर्ने बताउनुभयो । उहाँले अब केही दिनमै समाजवादी मोर्चाको घोषणा हुनेसमेत कार्यकर्ताहरुलाई जानकारी दिनुभयो ।

समाजवादी मोर्चाबारे छलफल गर्न बैठक समेत रहेको जनाउँदै उहाँले भन्नुभयो, “समाजवादी मोर्चाबारे माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल समाजवादी पार्टीबीच सैद्धान्तिक सहमति भइसकेको यद्यपि घोषणा हुन बाँकी रहेको छ ।” पूर्व गृहमन्त्रीसमेत रहनुभएका उहाँले संगठन संघर्षबाट विमुख हुँदा पार्टीले अपेक्षित गति लिन नसकेको जनाउनुभयो ।

उहाँले प्रदेश सरकारको पुनर्गठनबारे केही दिनमै केन्द्रीय गठबन्धनले निर्णय गर्ने जनाउँदै माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गर्नुभयो । अभियानका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभएका उपमहासचिव शर्माले हाम्रै स्रोत साधनसँग प्रविधिको प्रयोग गरी पार्टीलाई अगाडि बढाईने जनाउनुभयो ।

अन्तरक्रियामा केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल, युवा नेता रामदीप आचार्य, प्रदेश समितिका अध्यक्ष बिमला केसीलगायतले कर्णालीको गरिबी निवारणको मुद्दालाई प्राथमिकता राखेर पार्टीका गतिविधि सञ्चालन गरिने जनाउनुभयो । कार्यक्रममा पार्टीका नेता, भातृ तथा पेशागत संगठनका प्रतिनिधिहरु गरी करिब तीन सयको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्