OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ९, २०७९सुर्खेत
१९० पटक

 ९ चैत २०७९, बिहीबार

कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले यहाँका दश जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भाग लिएर काँस्य, रजत र स्वर्ण पदकसहितका पदक जित्ने ४७ खेलाडीहरुलाई रु.२५ लाख ५५ हजार नगद पुरस्कार प्रदान गरेको हो ।

परिषद्को यस अघिको निर्णय बमोजिम १२औं राष्ट्रपति रनिङ शिल्ड तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेश खेलकुद विकास परिषदको सिफारिसमा कर्णाली प्रदेश सरकारले १२औं राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण रजत, र काँस्य पदक विजेता खेलाडीलाई क्रमशः रु.बीस, पन्ध्र र दश हजार नगदसहित सम्मान प्रदान गरेको बताउनुभयो ।

खेलाडीहरुमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रु.दुई लाख, रजत पदक विजेतालाई रु.एक लाख ५० हजार र काँस्य पदक विजेतालाई रु.एक लाख प्रदान गरिएको छ ।
१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तीन स्वर्ण, सात रजत र सात कास्य, कवड्डी टोलीसहित १६ काँस्य पदक तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको तर्फबाट दुई स्वर्ण, चार रजत र ११ काँस्य पदक जितेका थिए । सन् २०२२ मा सञ्चालित अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी भई फुटबलतर्फ रजत पदक जित्न सफल हुम्लाका दिपा शाही रु.५० हजार र स्वर्ण पदक विजेता स्टे«न्थ लिफ्टिङ सुर्खेतका खगिसरा घर्तीलाई रु.दुई लाख नगद पुरस्कार वितरण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री टेकराज पछाईले खेल क्षेत्रबाट कर्णालीले विश्व चिनाउन ठूलो योगदान खेलेको बताउनुभयो । “खेलाडीहरु देशको गौरव हुन् तर नेपालमा खेलाडीहरुले खेल क्षेत्रमा आफ्नो भविश्य नदेखेकै कारण अन्य पेशा रोज्नु पर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा त्यस्तो नहोस् भनेर खेलाडी र खेल क्षेत्रलाई प्राथमिकता राखिएको छ ।”
मन्त्री पछाईका अनुसार १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णालीमा भौतिक पूर्वाधारको कमी हुन नदिन प्रदेशमा खेलकुदका पूर्वाधारहरु तीव्रता साथ अगाडि बढाईएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि यो अवसर र चुनौति दुवै भएको बताउनुभयो । यो अवसरको सदुपयोग गर्दै चुनौतिलाई सामना गर्न परिषद्ले योजना बनाइरहेको बताउनुभएका उपाध्यक्ष हमालले खेलाडीसहित सम्बन्धित सरोकारवालाहरुलाई साथ दिन आग्रह गर्नुभयो ।

सदस्य सचिव सञ्ज्यालले परिषद् गठन भएबाट पूर्वाधार, पुरस्कार, प्रतियोगिता, प्रशिक्षण र प्रोत्साहनको कार्यनीति लिइएको पूर्वाधार, र पुरस्कार कार्यन्वयन गरिएको जनाउनुभयो । उहाँका अनुसार खेलाडीहरुको पुरस्कार र प्रोत्साहन गर्न कर्णालीमा खेलको वर्गीकरण गरी प्रशिक्षणलाई प्रथामिकता दिने योजना बनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्