OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ८, २०७९सुर्खेत
१८४ पटक

८ चैत २०७९, बुधबार

कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । उहाँ चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ दैलेख निवासी हुनुहुन्छ । शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा प्रदेश योजना आयोगको सदस्यमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्त एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । आजकै बैठकले मुख्यमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञमा नेपाल सरकारका सेवा निवृत्त सहसचिव भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यसैगरी, बरिष्ठ आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकमा कार्यरत उपनिर्देशक डा. शालिकराम पोख्रेललाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै, बैठकबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभा बैठकमा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।

प्रवक्ता जिसीका अनुसार ‘भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको खाद्य अधिकार तथा सम्प्रभुता पहिलो संशोधन नियमावली, २०७९’ लाई पनि बैठकले स्वीकृत गरेको छ । भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालयमार्फत सञ्चालनमा रहेको रानीघाट तेलपानी १८ किलोमिटर सडक निर्माणको लागि १.१४ हेक्टर वन क्षेत्रको जग्गा प्राप्त गर्नका लागि नेपाल सरकारसमक्ष आजको मन्त्रिपरिषद्ले सिफारिस गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्