OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ७, २०७९सुर्खेत
७१९ पटक

 ७ चैत २०७९, मंगलबार

‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’मा सातवटै प्रदेशको यात्रामा हिडेका जनवादी कलाकारहरुले आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जनसाङ्गीतिक प्रस्तुति दिएका छन् ।

सुदूरपश्चिमको धनगढीमा जनसाङ्गीतिक प्रस्तुति दिएर सोमबार कर्णाली पुगेका जनवादी कलाकारहरुले आज वीरेन्द्रनगरको सिटी हलमा आयोजित जनसाङ्गीतिक प्रस्तुतिको क्रममा एकता, क्रान्ति र परिवर्तनका गीत गुन्जाए । उनीहरुले एकै स्वरमा हिजोको सशस्त्र विद्रोह, आन्दोलन, त्यसबाट प्राप्त उपलब्धिहरुको रक्षा र संस्थागत हुन नसक्नुमा कम्युनिष्ट भित्रको टुटफुट भएको औंल्याए ।

गीतमा उनीहरुले टुटफुट र खण्डित कुरा नगर, आत्मसम्मानका कुरा नगर, एक ढिक्का अनि बीरताकाे कुरा गर जस्ता शब्द र भावका गीत गाएर नेतृत्वकाे ध्यानाकर्षण गराएका थिए ।

उनीहरुको टोलीले भोलि दाङको भालुबाङ, पर्सि बुटवल, चितवन बर्दिवास हुँदै कोशी प्रदेशपछि गण्डकी प्रदेशमा सङ्गीत अभियात्रा सम्पन्न गर्ने तालिका रहेको कलाकार मोहित श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख ५ गते काठमाडौंमा कम्युनिष्ट पार्टीको नेतृत्वहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, धर्मेन्द्र बास्तोलालगायतको सहभागितामा सङ्गीत अभियात्राको समापन गरिनेछ ।

कलाकारहरुले मुलुकको राष्ट्रिय, स्वाभिमान र अस्तित्व रक्षाका लागि भएपनि कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्ने सन्देश गीतमार्फत प्रस्तुत गरेका थिए । १६ जनाको उक्त टोलीमा जनवादी गीत तथा संगीतकार मणिचन्द्र थापा, जनवादी गायकहरु जीवन शर्मा, उदय श्रेष्ठ, माधव प्रधान, मोहित श्रेष्ठ, कुस्मिता दर्लामी, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाख्रिन, अनु शर्मा, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा रहनुभएको थियो ।

प्रतिकृया दिनुहोस्