OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २४, २०७९सुर्खेत
२०० पटक

२४ फागुन २०७९, बुधबार

आज देशभरि ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरिएको छ । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ सम्पन्न भएको आजको महिला दिवसमा कर्णालीका सहर क्षेत्रमा रहर लाग्दा कार्यक्रम भएपनि गाउँको महिलाहरुका कठिन दृश्यहरु देखिए ।

कर्णालीका सहर तथा सहरोन्मुख बजारमा केही रमझम देखिएपनि गाउँका महिलाहरुले भने आज पर्न गएको ११३औं अन्तर्राष्ट्रिय महिला दिवस र त्यसको औचित्यबारे बेखर रहे । हरेक दिन मजदुरी गरेर बित्ने उनीहरुको दिनचर्याले आजको दिवसलाई महत्व दिने कुरा नै भएन । हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, जाजरकोटलगायत जिल्लाका ग्रामीण भेकका महिलाहरु आज पनि मेलापात, दाउरा घाँस, जीविकोपार्जनका लागि अर्काकै काममा व्यस्त रहे ।

हुम्लाका बिनिता बुढाले गाउँका महिलाहरुको अवस्था निकै दयनीय भएको बताउनुभयो । बुढाले भन्नुभयो, “गाउँमा अहिले पनि छोरा जन्माउनै पर्ने गलत संस्कारले महिलामाथि ठूलो अन्याय परेको छ । उनीहरु आज पनि ढुंगा बोक्ने, गिट्टी कुट्ने र घाँस दाउरा बोक्नमै व्यस्त छन् । महिलाहरुले चुलो चौको, सानै उमेरमा बिबाह गर्नुपर्ने, बाहिर सर्दा (छुई) हुँदा गोठमा सुत्नुपर्ने बाध्यता आज दिनसम्म पनि हामीले भोग्दै आएका छौं ।”

जुम्ला तिला गाउँपालिका निवासी रन्नसरा सुनारले गाउँका महिलाहरुले आज पनि ज्याला मजदुरीकै काम गरेर बिताएको बताउनुभयो । “गाउँका महिलाहरुलाई आज दिनभरि काम नगरे बेलुका हातमुख कसरी जोर्ने भन्ने ठूलो समस्या छ,” उहाँले भन्नुभयो, “ती महिलाहरुका लागि दिवसको वास्ता हुने कुरा नै भएन ।” सरकारले महिलाको कार्य बोझ घटाउने काम गरिदिए त्यही नै आफूहरुका निम्ति ठूलो दिवस हुने उहाँको भनाई थियो ।

महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्था सुर्खेतका निशा पौडेलले नेपालको संविधानको मौलिक हकले महिला अधिकारको व्यवस्था गरेपनि उनीहरुले अधिकार उपभोगको प्रत्याभूति नगरेको बताउनुभयो । पौडेलले भन्नुभयो, “सामान्यतः अहिले पनि महिलाहरुले समान कामको समान ज्याला पाउन सकेका छैनन् । घरदेखि नै राज्यले दिएको अधिकार प्रयोग गर्न पाएका छैनन् ।”

उहाँका अनुसार न्यायिक क्षेत्रमा महिलामाथि भएका जटिलता र उनीहरुले भोग्नुपरेका समस्याहरुका बारेमा आज पनि कुनै सरकारी निकायहरुले त्यसको अनुगमन गरेको छैन । जुम्लाको सिंजा गाउँपालिकाको आयोजनामा भने महिलाहरुले देउडा खेले महिला दिवस मनाए । देउडाबाटै उनीहरुले महिला हिंसा, अधिकारको समुचित उपयोग हुन नसकेको र समाजले महिलामाथि गरेको विभेदका विषयमा दिवसमा खुलेर राखे ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सामाजिक विकास मन्त्रालयको महिला विकास महाशाखाले औपचारिकतामै कार्यक्रम सम्पन्न गर्यो । कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा सामान्यत दिवसको रहर मेटाउन कार्यक्रम गरिएपनि यहाँका अधिकांश महिलाहरु दिवसमा सहभागी हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्