OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहफागुन १५, २०७९सुर्खेत
२५६ पटक

१५ फागुन २०७९, सोमबार

मुगु सोरु गाउँपालिका निवासी स्वस्तिका शाहीको चर्चा एकाएक चुलिएको छ । यही फागुन १२–१४ गतेसम्म धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं केन्द्रीय महाधिवेशनमा भाग लिएकी गायिका शाहीको कलाले उहाँलाई चर्चामा ल्याएको हो ।

नेपालको विकट भूगोलमा पर्ने मुगुबाट करिब तीन वर्षको बच्चा बोकेर महंगो खर्चमा धादिङ पुग्नुभएकी शाहीले फागुन १३ गते महाधिवेशनमा कर्णालीको प्रतिनिधिमूलक आवाज राख्नुभएको थियो । पिठ्यूमा बालक बोकेर अधिवेशनमा सहभागी मात्र होइन, उहाँले खरो आवाज राखेको दृश्य असामान्य नै थियो ।

छोटा कपडा, पाइन्ट, सर्ट जस्ता आधुनिक पहिरन लगाएका अधिवेशन प्रतिनिधिहरुका अगाडि शाही सामान्य पहिरनमै हुनुहुन्थ्यो । यद्यपि निकै दुःख गरी महंगो हवाईजहाज भाडा तिरेर केन्द्रीय महाधिवेशनमा पुगेकी उहाँलाई राष्ट्रियस्तरका कलाकारहरुले वेवास्ता गरेकोप्रति रतिपनि चित्त बुझेको थिएन । पछि आयोजकसँग समय मागेरै उहाँले आफ्ना रोषपूर्ण भावना पोख्नुभयो ।

उहाँले आक्रोश पोख्दै भन्नुभयो, “फेरी मुगु, हुम्ला, अछाम, बाजुरा, डोटी हरेक जिल्लाबाट प्रतिनिधि बोलाउने कि नबोलाउने ? तपाईको हातमा छ । हामी हरेक समयमा खर्च र ज्यान जोखिम राखेर घरीघरी आउन पनि सक्दैनौं ।” अर्को कुरा काठमाडौं पोखरा र नजिकका शहरहरुमा मात्र होइन सबै क्षेत्रका कुना कन्देरामा गएर अधिवेशन गरेर देखाउन समेत उहाँले कला क्षेत्रका नेतृत्वलाई चुनौति दिनुभयो ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान मुगुका कोषाध्यक्ष समेत रहनुभएकी उहाँले धादिङ्मा आफ्ना मनका बह (भावना–विचार) पोख्ने समय पाएपछि धित मेट्नेगरी राख्नुभयो । उहाँले कर्णाली जस्ता पिछडिएका क्षेत्रबाट आएका प्रतिभालाई प्रतिष्ठानले स्थान दिनुका साथै उनीहरुलाई अगाडि बढ्न हौसला समेत प्रदान गर्नुपर्ने माग राख्नुभयो ।

उहाँले राखेका कुराले सिंगो कर्णालीको प्रतिनिधित्व ग¥यो । जहाँ शाहीले प्रतिष्ठानका पदाधिकारी तथा राष्ट्रियस्तरका कलाकारहरु मुगु, डोल्पा जुम्ला पुगेर त्यहाँका कलाकारहरुलाई मूलप्रवाह ल्याउन र कर्णालीको वास्तविकलाई गीत संगीतमार्फत उजागर गर्न अनुरोध गर्नुभयो । त्यससँगै कर्णालीमा गाइने देउडासँग सम्बन्धित गीत गाएर उहाँले देशैभरिबाट महाधिवेशनमा सहभागी सबै कलाकारहरुलाई प्रभावित बनाउनुभयो ।

सुरुमा स्वर्गीय गायिका तारादेवीको ‘तिरीरी मुरली बज्यो वनैमा………।’ लयको गीत गाएर उहाँल सहभागी सबै कलाकारहरुलाई मन्त्रमुग्ध बनाउनुभयो । पछि शाहीले कर्णालीको देउडा भाकामा आधारित ‘लामै छ हुलाकी बाटो कर्णाली पारीको, रक्षा ग¥यै भगवान म दुराचारीको’ भन्ने भाव बोकेको गीत गाएर अधिवेशनस्थल गुञ्जायमान बनाउनु थियो ।

त्यसैगरी उहाँले ‘शाही र म परेवा जोडी घुटुक्क बाडुल्की लायाँ, सँगसँगै रनु (रहनु) हो प्यारा रातीमा सपनी आयाँ, मुना र मदनको जसो घुटुक्क बाडुल्की लायाँ, सँगसँगै रनु हो प्यारा रातीमा सपनी आयाँ’ भन्ने कर्णालीको न्याउला भाकामा आधारित गीत गाउनुभएको थियो । जसले अधिवेशनमा सहभागी कलाकारहरुको मन जित्न सफल भयो ।

शाहीको प्रतिभाको कदर गर्दै कलाकार विश्वास नेपालले उहाँलाई गीत रेकर्ड, भिजुलाईजलगायत आवश्यक सबैमा सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । उक्त समयमा उहाँलाई सहयोग स्वरुप रु.पच्चीस हजार नगद रकम पनि संकलन भएको छ । अहिले शाही टिकटिक, युट्युब, फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल भाइरल बन्नुभएको छ ।

शाहीले अवसर पाउनका लागि बोल्नु पर्दोरहेछ भन्ने धादिङ महाधिवेशनबाटै सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनैपनि कुरा प्राप्तिका निम्ति संघर्ष आवश्यक रहेछ । संघर्ष विनाको जीवन र प्रतिफल पाउने कुरा असंभव हुन्छ भन्ने कुरा बुझ्दैछु ।” आगामी दिनहरुमा आफूसहित दुर्गमका कलाकारहरुको प्रतिभा पहिचानमा लाग्ने उहाँको भनाई छ ।

पिठ्यूमा बच्चा बोकेर कर्णालीको आवाज केन्द्रीय महाधिवेशनमा घन्काउने शाही संभवतः दुर्गमको प्रष्टवक्ता र साहसिक महिला बन्नुभयो । बच्चा बोकेर गीत संगीतका लागि गरेको संघर्षको सहानुभूति भने अधिवेशन चल्दैको क्रममा स्वस्तिकाले छिट्टै बटुल्न सफल हुनुभयो । उहाँको छोटो समयको कलाको प्रदर्शनले अवसर पाए हरेकले आफ्नो प्रतिभा देखाउन सक्दो रहेछ भन्ने गतिले सन्देश प्रवाह गरेको छ ।

प्रतिकृया दिनुहोस्