OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १२, २०७९सुर्खेत
१७७ पटक

 

१२ फागुन २०७९, शुक्रबार

प्राकृतिक विपद्को उच्च जोखिमलाई विशेष्टीकृत गर्दै कर्णाली प्रदेश सरकारले प्रादेशिक मानवीय सहायता समन्वय र आकस्मिक कार्य योजना तर्जुमा लागि कार्यशाला सम्पन्न गरेको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ, युएनउमन, र समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा वीरेन्द्रनगर सुर्खेतमा आज प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्राकृतिक विपद्को उच्च जोखिममा भएकोले त्यसको पूर्व तयारी अपरिहार्य शर्त भएको बताउनुभयो ।

उहाँले नागरिकको जीउ ज्यान सुरक्षाका लागि राज्यका सबै संयन्त्रहरुबीच सहकार्य, समन्वय आवश्यक रहेको बताउँदै कार्यशालाले सरोकारवालाहरुको दायित्व बोध गराउने जनाउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कर्णालीको भूकम्पीय उच्च जोखिमको प्रतिकार्य गर्न कार्ययोजना निर्माणका लागि कार्यशाला गरिएको बताउनुभयो ।

कार्यकारी प्रमुख पोखरेलले भूकम्पलगायत बाढी पहिरोबाट क्षति भएका घर निर्माण गर्न कार्यविधि तयार गरी हिमाली जिल्लामा रु.पाँच लाख, पहाडी रु.चार लाख र तराईमा रु.तीन लाख दिने कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको समेत जानकारी दिनुभयो । विश्व खाद्य कार्यक्रमको उप निर्देशक निल्स बाल्जरले कर्णाली प्रदेश सरकारले साझेदार निकायसँग गरेको प्रादेशिक कार्यशालाले विपद् जोखिम प्रतिकार्यको पूर्वतयारीका लागि बन्ने कार्य ढाँचा प्रतिफलमुखी बन्ने जनाउनुभयो ।

प्रदेश तथा स्थानीय सरकार र साझेदार संस्थाहरुको साझा प्रयासबाट निर्धारित लक्ष्य पुरा हुँदै भन्दै उहाँले कर्णालीको विपद्को क्षेत्रमा आवश्यक सहयोग गर्ने बताउनुभयो । कानून मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले नेपाल सरकार र मानवीय सहायता टोलीद्वारा भूकम्प आकस्मिक कार्ययोजना तर्जुमा गर्ने, आपतकालीन प्रतिकार्यलाई अनुमानित र जवाफदेही बनाउने, क्षेत्रगत नेतृत्व तथा साझेदारी बढाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यशालामा क्षेत्रगतरुपमा समुह कार्य गरिएको बताउनुभयो ।

कार्यशालामा खाद्य, स्वास्थ्य, पोषण, आश्रय खानोपानी तथा सरसफाई, शिक्षा, जोखिममा बीचमा हुने सञ्चार र संरक्षणका लागि तत्काल सञ्चार कसरी गर्न सकिन्छ भन्ने विषयगत क्षेत्रको प्रस्तुति गरी समुहगत कार्य गरिएको थियो । प्राकृतिक विपद्मा परेका घाईते तथा बिरामीहरुको जीवन कसरी बचाउने, खोज तथा उद्धार कसरी गर्नेलगायत विषयहरुका बारेमा व्यापक छलफल भएको थियो ।

कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले कर्णाली विपदको जोखिम क्षेत्र भएकोले पूर्वतयारी आवश्यक भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “जतिबेला विपद् हुन्छ, त्यतिबेला सबैलाई राज्य चाहिन्छ । यसमा साझा विपद् राजनीति हुनुपर्दछ ।” सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले विपद् साझा मुद्दा भएकोले यसमा सबै सरोकारवालाहरुको भूमिका उत्तिकै रहेको बताउनुभयो ।

प्रादेशिक मन्त्रालय, मानवीय क्षेत्रमा कार्यरत साझेदार संस्था, नेपाल रेडक्रस सोसाईटी, ऐनका प्रतिनिधि, नीजि क्षेत्र, युवा समुह, महिला, आदिवासी, अपाङ्गता भएका व्यक्तिहरु, सुरक्षाकर्मी, जिल्ला नगर तथा गाउँपालिकाका सरोकारवालाहरुको सहभागिता रहेको थियो । उक्त कार्यशालाको प्रतिवेदनले विषयगत क्षेत्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र प्रादेशिक भूकम्पीय कार्य ढाँचा निर्माण प्रक्रियालाई मार्ग निर्देशन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्