OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ६, २०७९सुर्खेत
२२८ पटक

 ६ फागुन २०७९, शनिबार

कर्णाली प्रदेश प्रदेश प्रमुख तिलक परियारले लोक सेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश लोक सेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै प्रदेश प्रमुख परियारले आयोग योग्य, क्षमतावान् र कर्मठ कर्मचारी जन्म दिने भएकोले यसको क्षमता विकास गर्नुपर्ने सुझाव दिनुभयो । संविधानले दिएको अधिकार र संघीयताको भावना अनुरुप समावेशिताका आधारमा निजामती क्षेत्रमा चाहना भएका उम्मेदवारहरुले आयोगलाई ठूलो विश्वास गरेको उहाँले जनाउनुभयो । आयोगले छोटो समयमै धेरै उल्लेखनीय काम गरेर सेवा प्रवाह चुस्त र कामलाई सहज बनाउन विशेष योगदान पुर्याएको भन्दै प्रदेश प्रमुखले आयोगप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

दिवसमा मुख्यमन्त्री राजकुमार शर्माले नेपालमा प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको टिप्पणी गर्दै यसमा प्रभावकारिता आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा प्रणाली एकातिर, कार्य सम्पादन अर्कोतिर भएकोले सक्षम कर्मचारीले मात्र सही दिशा दिन सक्छन् ।” प्रदेशसभा पनि कर्मचारी आवश्यकता भएकोले योग्य जनशक्ति पूर्ति गर्न निजामती सेवा ऐन बनाउनेतर्फ लाग्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशका प्रमुख सचिव डा.गोपीकृष्ण खनालले प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार गर्ने काम भइरहेको बताउनुभयो । आयोगले प्रशासनिक भन्दा प्राविधिक कमर्चारी पूर्ति गर्नुपर्नेछ । सरकारले त्यसका लागि आवश्यक माग गर्छ । उहाँले काम गर्ने कर्मचारीहरुलाई सेवा सुविधा थप गर्नुपर्नेमा जोड दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रदेश निजामती सेवा ऐन नबनेकोले स्थानीय तहमा कर्मचारी अभाव बढेको बताउनुभयो । कहीँ कर्मचारी फालाफाल त कहीं अभाव हुनेगरी बनेको खाडल पूर्ति गर्न जतिसक्यो छिटो निजामती ऐन ल्याउन प्रदेश सरकारलाई सुझाउनुभयो ।

आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले विभिन्न अन्यौलताका माझबाट काम गर्न थालेपनि आयोगले छोटो समयमै सफल कार्यसम्पादन गरेको बताउनुभयो । कामका आधारमा कर्णालीको प्रदेश लोक सेवा आयोग पहिलो बनेको उहाँको दावी थियो । दुई वर्षको अवधिमा विभिन्न पदमा डेढ लाख आवदेन मध्ये ८६० जना योग्य उम्मेदवारहरुलाई छनौट गरी स्थायी नियुक्ति गर्न सिफारिस गरिएको उहाँको भनाई थियो । पछिल्लो समय निजामती आकर्षण बढ्दै जाँदा आयोगलाई जिम्मेवारी र चुनौती दुवै थपिएको अध्यक्ष उपाध्यायको भनाई थियो ।

प्रदेश लोक सेवा आयोगका सचिव नारायणप्रसाद भट्टराईले स्थापनाको दुई वर्षको अवधिमा आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवाका ८६० जनालाई छनौट गरी स्थायी नियुक्तिका लागि सिफारिस गरिएको बताउनुभयो । उहाँका अनुसार पाँचौ तहमा ४७६ जना र चौथो तहमा ३८४ जना छन् । आयोगको सक्रियताले रिक्त रहेका दरबन्दी पूर्ति भइ सेवा तथा विकास निर्माण कामहरु सुचारु गर्न सहयोग पुगेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्