OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ५, २०७९सुर्खेत
२३७ पटक

५ फागुन २०७९, शुक्रबार

मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागनु ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार नरैनापुर गाउँपालिका देशकै पहिलो बन्न सफल भएको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिन रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको आधारमा गरेको मूल्याङ्कन अंक प्रदान गरेको छ ।

आयोगको कार्यसम्पादन मूल्याङ्कनमा नरैनापुरले ७८.५१८६ अंक प्राप्त गरेको छ । प्यूठानको प्यूठान नगरपालिका दोस्रो बनेको छ । यसले ७७.२६१४ अंक प्राप्त गरेको छ । म्याग्दीको मंगला गाउँपालिका तेस्रो भएको छ । उक्त गाउँपालिकाले ७७.०९२६ अंक प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

स्थानीय तहको कार्यसम्पादनमा नरैनापुर गाउँपालिका उत्कृष्ट भएको खबरले हर्षित बनाएको सो गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । “दुई महिनादेखि बिरामी भएकोले मलाई यो खबर थाहा थिएन । यहाँहरुको सूचनाबाट थाहा पाएँ,” उहाँले भन्नुभयो, “यद्यपि जनप्रतिनिधि र कर्मचारीको कामप्रतिको यथेष्ट लगावले आज नरैनापुर देशकै उत्कृष्ट भएको हुन सक्छ ।” काम सही मूल्याङ्कन गर्ने वित्त आयोगलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

लुम्बिनी प्रदेशको बाँकेमा पर्ने उक्त गाउँपालिका आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुख्खाग्रस्त मानिन्छ । मुस्लिम र हिन्दु बाहुल्यता भएको उक्त गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार पनि विद्यमान रहेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले राससलाई जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षमा त पानी नै नपरेर नरैनापुर गाउँपालिकामा धान हुन सकेन,” उहाँले भन्नुभयो, “जिल्लाको अन्य पालिकाहरुको हिसाबले नरैनापुर निकै अभाव र संकटग्रस्त क्षेत्र हो ।” प्राकृतिक विपत्ति खासगरी खडेरीले यहाँको कृषि उत्पादनमा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो ।

उक्त गाउँपालिकाका लेखपाल प्रकाश अधिकारीले काममा अहोरात्र खटे अनुसार सुखद् खबर सुन्न पाईएको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा बेराजु आउने पालिकाकामा हामी जिल्लामै राम्रो देखियौं । पछिल्लो समयमा अस्पताल जाने सुत्केरी संख्या ह्वात्तै बढेको छ । घरमा सुत्केरी हुने संख्या कम रहेको छ ।”

विद्यालयमा विद्यार्थी भर्ना दर पनि उच्चरुपले बढेको लेखापाल अधिकारी जनाउनुभयो । उहाँका अनुसार आव.०७८÷०७९ मा नरैनापुर गाउँपालिकाले ९२ प्रतिशत पूँजीगत खर्च गरेको थियो । पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित भएर त्यसको दिगो विकास कार्यक्रम सञ्चालन भइरहेका छन् । राति अबेरसम्म नियमित खटेर काम गर्दा सफलता पाइदो रहेछ भन्ने कुरा यो नतिजाले देखाएको देशमै पहिलो भएको खबरले हर्षित तुल्याएको उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्