OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ४, २०७९सुर्खेत
३०८ पटक

४ फागुन २०७९, बिहीबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करणको पूर्ण तयारी सम्पन्न भएको छ ।

उत्सवको आयोजक ऋति फाउण्डेसनले आज वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत भोलि फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करणको तयारी पूरा भएको बताएको हो । आयोजक संस्थाका संयोजक कमल लम्सालले सरोकारवालाहरुलाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा ‘कर्णाली उत्सव’ श्रृङ्खला भईसकेको बताउनुभयो ।

संयोजक लम्सालले भन्नुभयो, “कर्णाली समृद्धिको सार्थक सपनाहरुबारे बहस गर्ने सिलसिलामा हामीले विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौं । मूलतः उपेक्षित, दुर्गम र अविकासको मानक बनाइएको कर्णालीका परम्परागत भाष्य र मानकलाई कसरी बदल्ने भन्ने बारेमा चर्चा गरिसकेका छौं ।”

कर्णाली उत्सवको सचिवालयका सदस्य माधवप्रसाद चौंलागाईले तेस्रो संस्करणसम्म सम्पन्न भएको उत्सवले अमूर्त उपलब्धि प्राप्त गरेको र यसको प्रभाव बिस्तारै देखिने बताउनुभयो । “यो विचारको बहस हो,” सदस्य चौलागाईंले भन्नुभयो, “यसबाट हामीमा साझा विवेक र चेतनाको विकास भएको छ ।” उहाँका अनुसार कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको छ ।

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ताहरु बोल्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँका अनुसार भोलि फागुन ५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आमन्त्रित अतिथिहरुलाई स्वागत गर्नु हुनेछ ।

उद्घाटन लगतै सुरु हुने पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौं ? भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम रहेको छ । तातोपानी निवासी नारायणी चौलागाईले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि भने निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा विद्धत प्रवचन दिने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

पहिलो सत्रमा सञ्चालन हुने ‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंह वक्ता रहनुभएको छ । दोस्रो, तेस्रो, चौथो र पाँचौं सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो शहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित दश जना वक्ताले भाग लिनेछन् ।

पहिलो दिन कर्णालीको पैकेलो (नायक)का रुपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ । साँझ ५ः४५ मा भने साँगीतिक साँझ गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्