OnlinePana

आज : २०८१ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १२, २०७९काठमाडौं
५०१ पटक

११ माघ, २०७९ बिहीबार

भनिन्छ, आउँदा आँधीबेहरी ल्याएर आउनु, जाँदा सन्नाटा छाउने गरी जानु ।

सन् २०१७ तिर ३७ वर्षको उमेरमा पहिलोपटक न्युजिल्यान्डको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै गर्दा र ४२ वर्षको उमेरमा बुधबार ९ महिना कार्यकाल बाँकी रहँदै पदबाट बाहिरिँदै गर्दा ज्यासिन्डा अर्डोनको जीवनमा यो लागू भयो ।

न्युजिल्यान्डमा सन् २०१७ को अक्टोबरमा सम्पन्न निर्वाचनमा ज्यासिन्डाको लेबर पार्टी संसदमा दोस्रो दल बन्यो । तर गठबन्धनको सरकार बन्ने भएपछि लेबर पार्टीले नेतृत्व गर्ने अवसर प्राप्त गर्‍यो । ज्यासिन्डालाई लेबर पार्टीले निर्विरोध दलको नेता चयन गरेपछि उनी प्रधानमन्त्री बनिन् । ३७ वर्षको उमेरमा त्यो पनि ‘प्रागम्याटिक सेन्टर लेफ्ट’ सिद्धान्त बोक्ने पार्टीबाट प्रधानमन्त्री बनेपछि ज्यासिन्डा विश्वभरका सञ्चार माध्यममा प्रमुख खबर बनेर छाइन् । कसैले लोकप्रियतावादीको आरोप लगाए त कसैले अपरिपक्वताको आशंका उनीमाथि गरिरहे ।

त्यसपछि सन् २०२० को अक्टोबरमा सम्पन्न निर्वाचनमा लेबर पार्टी एक्लैले बहुमत प्राप्त गर्‍यो । त्यसपछि ज्यासिन्डालाई संसदमा आफ्नै दलसँग भएको संख्याले प्रधानमन्त्री बनिरहने अवसर मिल्यो । तर आफ्नो कार्यकाल नसकिँदै उनले पदबाट राजीनामा दिएर परिवारका लागि समय दिने घोषणा गरिन् ।

कार्यकालको अधिकांश समय उनले प्रशंसा बटुल्न सफल भइन् । १४ सिटसहित दोस्रो बनेको दललाई ६४ सिट सहित पहिलो दल बनाएर लेबर पार्टीलाई एकल बहुमत प्राप्त गर्न भूमिका निर्वाह गरिन् । जुन समय उपलब्धीका हिसाबले उनका लागि उल्लासमय रह्यो ।

तर, बुधबार पदबाट औपचारिक राजीनामा दिएर बाहिरिँदै गर्दा न्युजिल्यान्डको सिंगो सदन भावुक बन्यो । विश्वभरका सञ्चार माध्यममा उनी पुनः छाइन् । पद छोडेर जाँदैगर्दा उनले उत्साह होइन स्तब्ध बनाएर गइन् ।

राजधानी वालिङटनमा रहेको संसद भवनभित्र ज्यासिन्डा प्रवेश गर्दै गर्दाको दृश्य बीबीसीले उल्लेख गरेको छ, ‘मैदानमा उपस्थित सयौं मान्छेहरूलाई अभिवादन गर्दै ज्यासिन्डा संसदमा प्रवेश गरिन् । उनलाई प्रत्येक सांसदले पालैपालो अंगालो हाले । सेरोफेरो भावुक बन्यो ।’

संसदमा बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री पदमा आसिन ज्यासिन्डाले आगामी अक्टोबरमा हुँदै गरेको निर्वाचनको मुखमा यसरी पदबाट राजीनामा दिने विषय कसैले अनुमान गरेका थिएनन् । तर उनले देशका लागि सक्ने जति गरेको र अब थप गर्न आफूसँग कुनै योजना बाँकी नरहेको भन्दै एक हप्ता अघि नै राजीनामा दिने अनपेक्षित घोषणा गरिन् ।

उनको स्वास्थ्य, उमेर वा राजनीतिक परिबन्ध कुनै खास कारणविनै राजीनामा दिने घोषणा गरेपछि त्यो धेरैका लागि अचम्मको विषय बन्नु स्वाभाविक थियो । उनले त्यसको एउटा सरल कारण दिइन्, ‘यो जिम्मेवारी पूरा गर्न के चाहिन्छ भन्ने मलाई थाहा छ । मसँग अब यस जिम्मेवारीमा बसेर न्याय गर्ने पर्याप्त योजनाहरू छैनन् भन्ने पनि थाहा छ ।’

‘म छोड्दै छु, किनकि यस्तो विशेषाधिकार प्राप्त भूमिकासँगै जिम्मेवारी पनि आउँछ । त्यस्तो जिम्मेवारी, जसले तपाईं नेतृत्वको लागि कतिबेला सही व्यक्ति हो र कतिबेला होइन भन्ने कुरा सिन आत्मबोध गराउँछ,’ उनले अगाडि भनेकी छन्, ‘यो एकदमै सरल कुरा हो ।’

आफू पदमा रहिरहने र कार्यकाल पूरा गर्ने कुनै कारण जुर्छ कि भन्ने विश्वासमा रहे पनि त्यस्तो हुन नसकेको स्पष्टोक्ति दिँदै उनले अगाडि भनेकी छन्, ‘यदि म अब पनि पदमा रहिरहेँ भने यसले न्युजिल्याण्डलाई नोक्सान पुग्नेछ ।’

उनले यो कार्यकाल पूरा नगरिकनै पदबाट राजीनामा दिने मात्रै होइन आशन्न निर्वाचनमा समेत भाग नलिने घोषणा गरेकी छन् । परिवार र बच्चाको लागि समय अपुग रहेको भन्दै उनले अबको समय उनीहरू लागि दिने बताएकी छन् ।

साता दिनअघि नै राजीनामा गर्ने घोषणा गरेपछि लेबर पार्टीबाट आगामी प्रधानमन्त्री को हुने भन्ने विषयमा लामो छलफल चल्यो । लेबर पार्टीले मंगलबार मात्रै ज्यासिन्डाको क्याबिनेटमा शिक्षा मन्त्री रहेका र कोरोना महामारीमा व्यवस्थापक मन्त्रीको जिम्मेवारी पूरा गरेका क्रिस हिपकिन्सलाई प्रधानमन्त्री बनाउने निर्णय गर्‍यो ।

कोरोना महामारीमा व्यवस्थापनमा कुशलता देखाएको भन्दै हिपकिन्सको प्रशंसा भएको थियो । उनले बुधबार ज्यासिन्डाको राजीनामा स्वीकृत भएसँगै सपथ तथा पदभार ग्रहण गरेका छन् ।

पदबाट औपचारिक राजीनामा दिनुपूर्व ज्यासिन्डा मंगलबार राजधानी वालिङटनमा आयोजित न्युजिल्यान्डको रैथाने माओरी समुदायको धार्मिक पर्वमा प्रधानमन्त्रीका रूपमा अन्तिमपटक सहभागी भएकी थिइन् । जहाँ उनले आफ्नो प्रधानमन्त्री कार्यकालको संक्षिप्त समीक्षा गरिन् ।

‘मैले मेरो कार्यकालभरी यस्तो माया, करुण, सहानुभूति र दयाको अनुभव गरेकी छु कि त्यो नै मेरो महत्वपूर्ण अनुभव रह्यो । यतिका समयसम्म यस्तो अद्भूत भूमिका दिनु भएकोमा धेरै वर्षमा सम्म आभारी रहनेछु,’ उनले भनिन् ।

नयाँ प्रधानमन्त्री हिपकिन्सका लागि उनले दिने कुनै सल्लाह थिएन, केवल ‘तपाईंले जसरी पनि गर्नुहुन्छ’ भन्ने बाहेक । उनले भनिन्, ‘अबको समय उहाँ (हिपकिन्स)को हो । उहाँले आफ्नो स्थान स्वयम्ले बनाउनुपर्छ र आफ्नै प्रकृतिको नेता बन्नुपर्छ । मसँग त्यस्तो कुनै सल्लाह छैन, जो म दिन सकूँ । म मेरा अनुभूति उहाँसँग बाँड्न सक्छु । मैले जानेका सूचना दिन सक्छु । तर अबको समय उहाँकै हो ।’

‘अब तपाई मलाई आन्तरिक राजनीतिमा टिप्पणी गरिरहेको देख्नुहुने छैन । मैले मेरो समय गुजारिसकेकी छु,’ उनले प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै भनिन्, ‘म ब्याकबेन्च सांसद भएर बस्न तयार छु, एक आमा र एक बहिनी भएर बस्न तयार छु ।’ अनलाईन खबरबाट ।

प्रतिकृया दिनुहोस्