OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ६, २०७९सुर्खेत
२६८ पटक

६ माघ २०७९ शुक्रबार

वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतस्थित प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ ।

वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने शहीद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लागिएको हो । उक्त सामुदायिक वन उपभोक्ता समुहको आज सम्पन्न २३औं वार्षिक साधारणसभामार्फत संस्था अध्यक्ष अमरबहादुर कार्कीले यसका लागि गुरुयोजना निर्माण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा सामुदायिक वनले शहीद पार्कमा गुरुयोजना अनुसार झरना, मचान, ट्रिहाउसलगायतका संरचनाहरु निर्माण गर्नेछ । यसले आन्तरिक तथा पर्यटकहरुको आकर्षणलाई बढाउनेछ ।” वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सामुदायिक वनको हाताभित्र रहेको प्रादेशिक शहीद पार्क प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य गराउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले शहीद पार्कभित्र गुरुयोजना विपरितका कुनैपनि कामहरु नगर्न आग्रह गर्दै त्यसको पुनरावलोकन गरी सोही अनुसार संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । पार्कभित्र पुराना नमूना घर, कोल, ढिकी जाँतोजस्ता पम्परागत संरचनाहरु निर्माण गर्न सकिए त्यसले पर्यटकहरुलाई थप आकर्षित गर्ने उपप्रमुख खनालको भनाई थियो ।

वीरेन्द्रनगरका पूर्व प्रमुख देवकुमार सुवेदीले उक्त सामुदायिक वनलाई अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सल्लाह दिनुभयो । वीरेन्द्रनगरको पानीको मुहान मानिने उत्तरी जलाधार क्षेत्रलाई संरक्षण गर्ने योजनाहरु ल्याउन वन समुहलाई आग्रह गर्दै उहाँले पार्कलाई सफा र स्वच्छ राख्ने संरचना निर्माण गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा समाजसेवीहरु शम्भुकुमार पन्त, जनजागरण वनका अध्यक्ष मेघबहादुर बोहरा, नेपाली काँग्रेसका वडा सभापति गोविन्दप्रसाद शर्मा, एमाले वडाध्यक्ष मनिराम भण्डारी, नेकपा माओवादी केन्द्रका वडासंयोजक दिपु श्रीमाल, पिपलबोट सहकारीका अध्यक्ष बलहादुर सार्कीलगायतले सामुदायिक वन समूहले गरेको गतिविधिहरु उत्कृष्ट रहेको भन्दै आगामी दिनमा उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर थप काम गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष देवीप्रसाद खनालले समूहको आर्थिक गतिविधिका साथै आगामी वर्षको प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्