OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २, २०७९काठमाडौं
१९७ पटक

२ माघ २०७९, सोमबार

वि सं.२०७४ सालको प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक संघीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । संघीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा नेपालका सात प्रदेशमध्ये कुनैमा पनि सभामुखमा महिला आउन सकेनन् ।

राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । ०७४ को निर्वाचनपश्चात् प्रदेशसभामा निर्वाचित कूल सदस्य संख्याको ३३ प्रतिशत महिलाहरु सातै प्रदेशमा निर्वाचित भए । संसदमा सभामुख र उपसभामुखमा पुरुष वा महिला अनिवार्य हुनुपर्ने संवैधानिक बाध्यताले सबै प्रदेशमा उतिबेला महिलाहरु उपसभामुखमा मात्र चुनिए ।

विसं.२०७९ को निर्वाचनपश्चात कर्णाली प्रदेशसभाले आइतबार मात्र सभामुख प्राप्त गरेको छ । माघ १ गते सम्पन्न भएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा सदस्य नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको हो । सभामुखमा निर्वाचित उहाँ संघीयताको इतिहासमा नेपालकै पहिलो महिला हुनुहुन्छ ।

नवनिर्वाचित सभामुख गुरुङको जीवनी

विसं.२०२३ साल फागुन २ गते आमा कुमारी र बुबा लालबहादुर गुरुङको जेठी छोरीका रुपमा दैलेखको नारायण नगरपालिका ७ नयाँगाउँमा जन्मिनुभएको थियो । आमा बुबासहित परिवार बसाई सरेपछि उहाँको बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा बित्यो । उहाँको प्रारम्भिक शिक्षा बर्दियाबाट लिनुभयो ।

घरमा दाजुहरु राजनीतिमा आवद्ध भएकाले गुरुङमा सानै उमेरदेखि राजनीतिक प्रभाव थियो । त्यही प्रभावले आठ÷नौ कक्षा पढ्दा नै राजनीतिकबारे बुझ्न थालेकी उहाँले विसं.२०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियु छैटौंमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएकी गुरुङले विसं.२०४६ पछि नेकपा एमालेको राजनीति जोडिनुभयो ।

एमाले पार्टीको प्रारम्भिक कमिटि, वडा, क्षेत्र हुँदै जिल्ला कमिटिमा आवद्ध भएर सदस्यका रुपमा काम गर्नुभयो । त्यस्तै, युवा संघको जिल्ला कमिटिमा दुई कार्यकाल सदस्य भएर काम गर्नुभयो । पछि विसं.२०५४ सालमा हालको वीरेन्द्रनगर नगरपालिका २ (साविकको उत्तरगंगा गाविस ४ सुर्खेत)को वडा सदस्यमा विजयी हुनुभयो । त्यही सालमा मेनिन्जाइटिस् रोगका कारण उहाँले आफ्नो पति धर्मबहादुर गुरुङलाई गुमाउनुपर्यो ।

एकल महिलाको संघर्षपूर्ण जिन्दगीलाई उहाँले समाज सेवामा लगाउँदै पछि खुला शिक्षातर्फ वीरेन्द्रनगर १२ अमरज्योति माविबाट विसं.२०६५ मा एसएलसी, ०६६÷०६७ मा जनमाविबाट प्रवीणता प्रमाण पत्र तह र ०७० मा सुर्खेत क्याम्पस शिक्षाबाट स्वास्थ्य विषय लिएर स्नातक पास गर्नुभयो ।

अखिल नेपाल महिला संगठनको जिल्ला संयोजक र केन्द्रीय सदस्यका रुपमा काम गर्दै आउनु भएकी गुरुङ अहिले प्रदेश कमिटि सदस्य हुनुहुन्छ । उहाँ एकल महिला तथा महिलाहरुको हक हितका लागि पनि क्रियाशिल हुनुहुन्छ । हाल मानव अधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि हुनुहुन्छ । तीन दाजु र आफूसहित एक बहिनी भएकी सभामुख गुरुङका दुई छोरा र एक छोरी साथमा छन् ।

प्रतिकृया दिनुहोस्