OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २८, २०७९
६०२ पटक

 २८ पुस २०७९ बिहीबार

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिको अभियान’ थाल्ने बताउनुभएको छ ।

नवनियुक्त मुख्यमन्त्रीका रुपमा पदबहाली गर्दै उहाँले सुख र खुसी प्राप्त गर्नुपर्ने दुईवटा अभिभारा काँधमा आएको बताउनुभयो । मुख्यमन्त्री शर्माले भन्नुभयो, “सुखी हाम्रो आर्थिक सम्पन्नता र खुसी सामाजिक न्यायसँग जोडिएको छ ।” भौगोलिक विकटता भएको कर्णालीको ठूलो शत्रु नै गरिबी भएको र त्यसको अन्त्यका लागि रोजगार र रोजगारसँगै स्वरोजगार सृजना गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शर्माका अनुसार कर्णाली समृद्धिको अभियान पुरा गर्न प्रतिवर्ष १० हजार बेरोजगाहरुलाई रोजगारी प्रदान गर्न नीति निर्माण, बजेट तर्जुमाका साथै कार्यविधि बनाएर अगाडि बढिनेछ । कर्णालीमा बजेट अभाव र प्रभावकारी कार्यान्वयन नै समस्या भएकोले त्यसको समाधानका लागि संयन्त्र निर्माण गरी कार्यसम्पादनमा जोड दिने उहाँको भनाई छ ।

कर्णालीमा कर्मचारी दण्ड भोग्न आएको महसुस गर्ने मानसिकताको अन्त्य गर्न र उनीहरुको मनोबल बढाएर काम गर्ने वातावरण कसरी बनाउन सक्नुहुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री शर्माले भन्नुभयो, “संघीय प्रणालीमा पनि जनप्रतिनिधि र कर्मचारी सबैले जनताकै काम गर्नुपर्ने हुन्छ । यहाँ कर्मचारीलाई दण्ड नभई कर्णाली जान होडबाजी गर्ने प्रदेश बनाईनेछ ।”

अब निकट केही दिनमै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने भन्दै उहाँले विना विभागीय मन्त्रीका रुपमा नियुक्त गर्नुभएका मन्त्रीद्वय मंगलबहादुर शाही र विनोदकुमार शाहलाई छिट्टै जिम्मेवारी दिइने जनाउनुभयो । शाही नेकपा माओवादी केन्द्र मुगु (२) र शाह नेकपा एमाले दैलेख क्षेत्र नं.२(२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मुख्यमन्त्री शर्माका अनुसार केन्द्रको निर्णयलाई नतोडी बरु सबैका भावनालाई जोडेर संसद र सरकारलाई व्यवस्थित बनाउँदै प्रदेश निर्माणको यात्रा प्रारम्भ गरिएको छ । यसमा सबैको साथ सहयोग लिएर कर्णालीवासीको हितमा काम गरिने उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्