OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २७, २०७९सुर्खेत
१९८ पटक

 

२७ पुस २०७९, बुधबार

कर्णाली, २७ पुस (रासस)ः विश्वव्यापी चुनौति बनेको मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपासर नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम’ मार्फत सांगठनिक अपराधका विरुद्ध एक भएर अगाडि बढ्न अपिल गरिएको हो । मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी आफ्नो प्रस्तुति राख्दै सबै क्षेत्र, तहको साझा प्रयासविना यो समस्या नियन्त्रण हुन नसक्ने बताउनुभयो ।

“पछिल्लो तथ्याङ्कलाई हेर्दा नेपालमा ४० हजार ३०० व्यक्ति बेचबिखन तथा ओसारपसार भएको देखिन्छ,” उहाँले भन्नुभयो, “तर यस्ता क्रियाकलापविरुद्ध मात्र १३४ उजुरी परेका छन् ।” ठूलो संख्यामा ओसारपसार हुँदा उजुरी नगण्य मात्रामा पर्नु निकै दुखद् कुरो भएको बताउँदै सहसचिव बस्नेतले यसमा सचेतना र अभियान दुवै आवश्यक भएको जनाउनुभयो ।

गरिबी, अशिक्षा र वैदेशिक रोजगारीका कारण बढी महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसारमा परेको प्रतिक्रिया दिनुभएको उहाँले मूलतःआन्तरिक र बाह्य दुवै ओसारपसार भएकोले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणको अभियानमा लाग्न समग्र क्षेत्रलाई अनुरोध गर्नुभयो । कार्यक्रममा उहाँले नीतिगत, संरचनागत समस्या भएपनि मानव बेचबिखन तथा ओसारपासर ऐन, २०६४ बनेको जनाउनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले समाज परिवर्तनका लागि सोच परिवर्तन आवश्यक रहेको टिप्पणी गर्नुभयो । “मुलुकमा कानून बनेका छन् तर घटना नियन्त्रण हुन नसक्नु आफैमा सोचनीय विषय हो,” उहाँले भन्नुभयो, “अब भौतिक विकास मात्र होइन, सामाजिक न्यायको ५० प्रतिशत विकास हुन सकेमा मात्र हामीले लिएको उद्देश्य पुरा हुन्छ ।”

समाज रुपान्तरण र मानव विकासको समग्र परिणाम प्राप्तिका लागि बनेका कानूनको प्रभावकारी कार्यान्वयन पहिलो प्राथमिकतामा हुनुपर्ने र यसको निर्मम समीक्षा गर्नुपर्नेमा उहाँको जोड थियो । अबको पाँच वर्षमा समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्ने नगरप्रमुख ढकालको भनाई थियो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव बेचबिखन तथा ओसारपसारमा विविधिकरण भएको जनाउनुभयो । पछिल्लो समयमा बेचबिखन र ओसारपसार मात्र नभएर मानव अंग प्रत्यारोपणसमेत हुने गरेको उहाँको भनाई थियो । एनसेल अपराधीहरुले प्रयोग गर्ने नेटवर्कमा रुपान्तरण भएको भन्दै यसको नियन्त्रण तथा विशिष्टीकृत कार्यका लागि महिला विकास कार्यालय आवश्यक रहेको प्रजिअ रिजालले औंल्याउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक झरना सोनारले ओसारपसारका गतिविधि बढ्दै गएपनि तीन वर्षमा सुर्खेतमा पाँचवटा मात्र मानव बेचबिखन तथा ओसारपसारविरुद्ध उजुरी परेको जनाउनुभयो । यस्ता घटनाविरुद्ध पैसा नलाग्ने भन्दै पीडितहरुले हस्तलिखित निवेदन ल्याए पनि दर्ता गर्दै आएको प्रहरी निरीक्षक सोनारले बताउनुभयो ।

समाजिक विकास मन्त्रालयका प्रतिनिधि अनिता ज्ञावली, बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी, महिला अधिकारकर्मी पवित्रा शाहीलगायतले संघ, प्रदेश र स्थानीय तहको आपसी समन्वय, सहकार्य तथा साझेदार निकायहरुको सहयोगबाट राज्यले लिएको लक्ष्यमा पुगिने बताउनुभयो । उक्त कार्यक्रममा मानव अधिकारकर्मी, स्थानीय तहका न्यायिक समितिका संयोजकहरु, महिला शाखा प्रमुख, किशोरकिशोरी, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि एवं सञ्चारकर्मी पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्