OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २७, २०७९सुर्खेत
२१७ पटक

२७ पुस २०७९, बुधबार

संघीयताको इतिहासमा कर्णाली प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालको नेतृत्व नेकपा (माओवादी केन्द्र)ले नै गरेको छ । पहिलो कार्यकालमा प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेपनि सत्ता गठबन्धनको भागवण्डामा कर्णाली सरकारको नेतृत्व पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको थियो ।

पछिल्लो राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै विसं.२०७४ सालको प्रदेशसभा सदस्यमा प्रत्यक्षमा एक स्थान मात्र जितेको नेपाली काँग्रेसबाट जीवनबहादुर शाहीले १४ महिना १० दिन प्रदेश सरकारको नेतृत्वको गर्दै मुख्यमन्त्री बन्नुभयो । विसं.२०७९ को प्रदेशसभा निर्वाचनमा मुख्यमन्त्री बन्ने चाहनाका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएर आएपनि राष्ट्रिय राजनीतिमा आएको अर्को बदलावका कारण प्रमुख प्रतिपक्षी दलको नेतामा चित्त बुझाउनु परेको छ ।

नेकपा एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेल विसं.२०७४ र ०७९ मा मुख्यमन्त्री हुने सपना बोकेर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । बिडम्बना ! उहाँ आफैले नै फरक पाटीको सदस्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्नुपर्ने बाध्यता सामना गर्नुपरेको छ । नेता कँडेलकै प्रस्तावमा माओवादी प्रदेशसभा दलका नेता शर्मा आज मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री शर्माको राजनीतिक यात्रा

कर्णाली प्रदेश सरकारको नव नियुक्त मुख्यमन्त्री शर्मा रुकुमपश्चिम प्रदेशसभा (२)बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । विसं.२०२८ भदौ २८ गते चौरजहारी नगरपालिकम १४ साक्चा, नुवाँकोट (साविक नुवाँकोट गाविस) मा जन्मनुभएका उहाँले नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धका विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो ।

२०४१ सालमा स्कुल पढ्दै गर्दा अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति यात्रा सुरु गर्नुभएको थियो । सानोमै छँदा निर्दल र बहुदलको बारेमा चासो राख्दै ०४१ सालमै उहाकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी भएर तत्कालीन् राजतन्त्रको विरोध र जनयुद्धको तयारीका क्रममा ०५०÷०५१ सालमा रुकुम रोल्पामा सञ्चालित ग्रामीण वर्ग संघर्षको थालनीकर्ता रुपमा जनयुद्धमा पूर्णकालीन कार्यकर्ता लाग्नुभयो ।

विसं.०४३ सालमा सदरमुकाम मुसिकोट पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य हुँदै विसं.२०४६ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ महामन्त्री रहेको नेकपा (मसाल) को सांगठनिक सदस्यता लिई २०४७ सालदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा राजनीतिमा होमिनुभएको थियो । त्यस्तै, ०४८ सालमै सर्वहारावादी श्रमिक संगठन, पातलो मसालको केही हिस्सा, मोटो मसाल र मसालसहित नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र भएसँगै पछि बाहिर जनमोर्चाका नाममा वैधानिक राजनीतिक गतिविधि उहाँ संलग्न हुनुभएको थियो ।

त्यो बेलामा शर्माको अगुवाईमा जनयुद्धको आवश्यकता बारेमा जनजागरण, जनयुद्धको तयारी, जनसेवा तथा जनपरिचालनमार्फत विकास निर्माण र स्थानीय जाली फटाहा विरोधी जनसंघर्षका थुप्रै कामहरु भएका थिए ।

२०५० सालमा महतको फूलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम गरेर ’जनयुद्ध’का लागि फौजी आधार तयार गर्न शर्माले महत्वपूर्ण भूमिका खेल्नुभयो । सशस्त्र युद्धको आधार तयार गर्न रुकुममा सञ्चालित ग्रामीण संघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसंघर्षका कामको नेतृत्व लिँदै जनयुद्धपूर्व नै पूर्णकालीन राजनीतिमा होमिएका शर्माले २०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चौकी कब्जाको नेतृत्व गर्नुभएको थियो । प्रचण्ड नेतृत्वमा सशस्त्र युद्ध सुरु भएपछि उहाँको भूमिगत राजनीति सुरु भएको थियो ।

विसं.०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी शर्माका लागि उक्त लडाई विशेष स्मरणीय रहेको छ । एउटा एसल्ट टोली (आक्रमणमा सहभागी मुख्य लडाकु टिम) को कमाण्ड गरी उक्त लडाइँमा सहभागी शर्माका लागि मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) लाई गुमाउनुपरेका कारण पनी विशेष स्मरणीय रहेको थियो ।

२०५४ मा साविक कर्णालीका जिल्लाहरूमा विभिन्न सैन्य कमाण्डको नेतृत्व सम्हालेका शर्मा २०५८ पछि मुगु, डोल्पा र २०६१ को शान्ति प्रक्रियापछि पनि दैलेखमा रहेर काम गर्नुभयो जतिबेला दैलेखमा माओवादीविरुद्ध प्रतिकार अभियान चलाइएको थियो । सो बखतमा उहाँले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला ईन्चार्जका रुपमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

तत्कालीन विद्रोही र राज्य पक्षबीच विस्तृत शान्ति प्रक्रियामा हस्ताक्षर हुँदा शर्मा थरुहट राज्य दाङ, बाँके, बर्दिया र कैलाली, कञ्चनपुरको प्रमुख हुनुहुन्थ्यो । २०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरेका उहाँ केन्द्रीय प्रचार विभाग, २०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख, पार्टीको जिल्ला कमिटी इन्चार्ज, ०७८ मा प्रदेश कमिटि अध्यक्ष हुँदै कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नुभएको छ ।
कक्षा १० सम्मको औपचारिक शिक्षा पुरा गर्नुभएका मुख्यमन्त्री शर्मा पार्टीमा आर्ट नामले परिचित हुनुहुन्छ । हाल उहाँ नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रुपमा काम गर्दै आउनुभएको छ ।

आफुले राजनीतिमा लाग्न प्रेरित गरेका र समकालीन राजनीतिक पृष्ठभूमिका थुप्रै सहकर्मीहरुले राज्य सञ्चालनका क्रममा सुविधाका पदधारण गर्दै गर्दा उहाँले संसदीय राजनीतिको यात्रामा पहिलो पटक प्रवेश गर्नुभएको हो । राज्यसत्ता परिवर्तनका लागि जनयुद्धका क्रममा सिंगै कर्णालीलाई पैदल हिडेर पुरा गर्नुभएका शर्माले कर्णालीका जनताका मुहारमा खुशी र सम्पन्नता ल्याउने संकल्प गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्