OnlinePana

आज : २०८१ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १८, २०७९सुर्खेत
२२१ पटक

१८ पुस २०७९, सोमबार

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले जुनसुकै राजनीतिक दलबाट जितेर आएपनि यहाँको गरिबी, भोक, रोग र अशिक्षाका विरुद्ध एक भएर अगाडि बढ्नुपर्ने जोड दिएका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेस प्रदेशसभा दलको जीवनबहादुर शाहीले कर्णालीमा दल वा सरकारविरुद्ध नभई निर्वाचित सबै जनप्रतिनिधिहरुले सबै खाले चुनौतिसँग जुध्नु आजको आवश्यकता रहेको जनाउनुभयो ।

प्रदेश निर्माणमा अरुलाई दोष दिने छुट नभएकोले विधायकीहरुले राम्रो ऐन, कानून बनाउनुपर्नेमा जोड दिँदै उहाँले जननिर्वाचित ज्येष्ठ सदस्यसहित सबै प्रदेशसभा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलको नेता यामलाल कँडेलले गएको कार्यकालले जग बसालिसकेकोले यो कार्यकाललाई अँझ बढी परिणामुखी र सुदृढ गरेर लैजान एकमत हुनुपर्ने बताउनुभयो । कर्णालीमा विकास गर्ने भन्दा खाने मनोविज्ञान भएकोले अब सही सन्देश दिनुपर्ने भन्दै नवनिर्वाचित प्रदेशसभा सदस्यलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेता राजकुमार शर्माले जनताप्रति जवाफदेही भएर जनयुद्ध, जनआन्दोलन र विभिन्न कालखण्डको परिवर्तनबाट आएको व्यवस्थाको संरक्षण आजको नेतृत्वले गर्नुपर्ने बताउनुभयो । गरिबीका विरुद्धमा लड्न साझा अवधारणा आवश्यक भएको बताउनुभएका उहाँले जनताको अभिमत र अमूल्य योगदानबाट आज यो व्यवस्थामा निर्वाचित हुन सकिएको भन्दै मतदातालाई धन्यवाद र प्रदेशसभा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुभयो ।

राप्रपा नेपालका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाही, नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य कल्याणी खड्का र स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्र शाहीले कर्णाली प्रदेशको शान्ति, विकास र समृद्धिको लागि समन्वय, सहकार्य र ऐक्यवद्धता आवश्यक भएको बताउनुभएको थियो ।

ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभा सञ्चालनको क्रममा कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ११ को उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्रयोजनका लागि हिक्मत विष्ट, भीमप्रकाश शर्मा र जीतबहादुर मल्लहरुलाई मनोनयको प्रस्ताव गर्नुभयो । उक्त प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको थियो । प्रदेशसभाको अर्को बैठक पुस २५ गते दिउसो १ः०० बजे हुने सूचना गरिएको छ ।

प्रतिकृया दिनुहोस्