OnlinePana

आज : २०८१ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १७, २०७९सुर्खेत
१०८१ पटक

१७ पुस २०७९, आइतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुलुकलाई गरिबीबाट मुक्ति दिने कार्य गर्नु ठूलो धर्म भएको बताउनुभएको छ ।

इसाई समाज सुर्खेतद्वारा अंग्रेजी नयाँ वर्ष सन् २०२३ तथा ख्रीष्टमसको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले धर्मनिरपेक्ष राज्यभित्र रहेर लोक कल्याणकारी काम गर्नु उत्तम धर्म हुने बताउनुभयो । “राज्यभित्रका सबै धर्म र त्यसका अनुयायीहरुमा धार्मिक सहिष्णुता हुनुपर्दछ,” उहाँले भन्नुभयो, “पापजन्य कार्य कोही कसैले गर्न हुँदैन ।”

धार्मिक, साँस्कृतिक, भाषिक तथा जातीय विविधताभित्रको एकता नेपालीहरुको मौलिक विशेषता भएको मुख्यमन्त्री शाहीले बताउनुभयो । हरेक नागरिक अनुशासित, सभ्य र इमान्दार भएर देशप्रति कर्तव्य निष्ठावान हुनुले मुलुकको उन्नयन हुने बताउँदै उहाँले इसाई धर्मावलम्बीहरुलाई ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना प्रदान गर्नुभयो ।

नेपाल इसाई समाज कर्णाली प्रदेश अध्यक्ष तथा प्रवाचक नवीन दर्लामीले विश्वासद्वारा मात्र मुक्ति प्राप्त हुने जिकिर गर्नुभयो । “हरेकमा मानव सेवा र नैतिक जीवन हुन आवश्यक छ,” उहाँले भन्नुभयो, “त्यसो हुन सक्यो भने मात्र मानवता झल्किन्छ । प्रमेश्वरले सृष्टि गरेका चीजमाथि नभई प्रमेश्वरमाथि नै विश्वास गर्न आग्रह गर्दै उहाँले पशुबली दिएर मान्छे पापबाट मुक्ति नपाउने तर्क गर्नुभयो ।

नवनिर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरु क्रमशः कृष्णबहादुर जिसी, खड्गबहादुर पोखरेल, बलिमाया बुढा र जानकी सिंहले धर्मनिरपेक्ष राष्ट्र नेपालमा सबैको अधिकार राज्यले सुनिश्चित गर्नुपर्ने बताउनुभयो । राज्य सबै धर्म, जाति, भाषा, संस्कृतिको अभिभावक भएको भन्दै प्रदेशसभा सदस्यहरुले नीतिगत तहमा कुनै धर्मप्रति विभेद हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमा इसाई समाजका सुर्खेतका अध्यक्ष पदम गैरेले कर्णाली प्रदेश सरकारले इसाईप्रति देखाएको सकरात्मक भावको उच्च प्रशंसा गर्नुभयो । नव वर्ष २०२३ को सबैमा शुभकामना प्रदान गर्दै उहाँले कार्यक्रम सञ्चालनमा सहयोग पुर्याउने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । साे अवसरमा समाजका बरिष्ठ उपाध्यक्ष गाेमानसिंह बस्यालले वचन प्रस्तुतिका लागि विशेष प्रार्थना गर्नुभएकाे थियाे ।

कार्यक्रममा यहाँका इसाई धर्मावलम्बीहरुले सुर्खेत बुलबुले, मंगलगढी चोक, मुख्य बजार, गणेशचोकमा हुँदै घण्टाघरसम्म साँस्कृतिक झाँकीसहित ¥याली कार्यक्रम गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा सुर्खेतस्थित विभिन्न मण्डलीका कलाकारहरुले साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । बरिष्ठ पास्टर सलाेमान गुरुङले शुभारम्म प्रार्थना गर्नुभएकाे उक्त कार्यक्रमकाे सहजीकरण इसाई समाज सुर्खेतका सचिव प्रेम बयलकाेटीले गर्नुभएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्