OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ८, २०७९सुर्खेत
२८२ पटक

८ पुस २०७९, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगत्को ठूलो भूमिका रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित केन्द्रीय साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । “परिर्वतनबाट प्राप्त उपलब्धिको संस्थागत गर्न चुनौति बढेको छ,” उहाँले भन्नुभयो, “यसका लागि प्रेस क्षेत्रको भूमिका व्यापक छ ।”

प्रेस जगतलाई राज्यले अंकुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । मुलुक संघीयतामा गइसकेपछि पनि नागरिकहरुको गुनासोहरु रहेको जनाउनुभएका उहाँले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासंघको साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो । महासंघको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नव निर्मित केन्द्रीय कार्यालयको समेत राष्ट्रपतिले उद्घाटन गर्नुभयो ।

साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गर्नुभयो । “मुलुकमा स्थापित भनिएका दलहरुको देशलाई सहि दिशामा लिने गति भएन,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसलाई सहि बाटोमा लगाउने पत्रकारहरुको मति भएन ।”

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगत्को ठूलो भूमिका रहेको बताउनुभयो । यो निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको उहाँले जनाउनुभयो । “प्रमुख दलहरुले आफ्नो जनाधार गुमाएका छन्,” महासचिव पोखरलले भन्नुभयो, “यद्यपि दलहरु असफल भएर वैकल्पिक शक्ति जन्मेको भन्ने सत्य होइन ।”

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आज भन्दा १५ वर्ष अघि आफू सञ्चारमन्त्री हुँदा श्रमजीवि पत्रकारहरुको लागि नयाँ गति दिएको सूचना आयोग बनाउन तथा श्रमजीविहरुको हितमा काम गरेको बताउनुभयो । राष्ट्रिय राजनीतिका सन्दर्भमा सरकार गठकका लागि कुनै सहमति नभएको उहाँले जनाउनुभयो ।

“सरकार गठन हुन नसक्नुमा खेल हाम्रो देशको मात्र छैन । हामी कसैबाट सञ्चालित छौं,” उपाध्यक्ष महराले भन्नुभयो, “यसका लागि सञ्चारजगत्ले पुनः देश र जनताकै पक्षमा आवाज उठाउनुपर्ने हुन सक्छ ।” सरकार गठनको सहमतिको तत्काल पनि संभावना नरहेको उहाँको भनाई थियो ।

नेकपा (एकीकृत समाजवादी) नेता जगन्नाथ खतिवडा र लोकतान्त्रिक समाजवादीका केशव झाले मुलुक देखिएको राजनीतिक संकट समाधानमा सबै परिवर्तनकारी शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभयो । यसका लागि प्रेस जगतको भूमिका अँझ बढी प्रभावकारी हुने उहाँहरुको भनाई थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापतिद्वय हरिहर बिरही र किशोर नेपालले सञ्चार जगतमा उल्लेख्य सुधार आउनुपर्नेमा जोड दिँदै संविधानको भावना अनुरुप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको बताउनुभयो । पूव सभापतिद्वयले राजतन्त्रात्मक मानसिकता अहिले पनि रहेको जिकिर गर्दै हाम्रो चरित्र र संस्कारमा सुधार आउनुपर्नेमा जोड दिनुभयो ।

उक्त साधारणसभामा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा रु.एक लाख र प्रमाण पत्रसहित कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । त्यस्तै, सुर्खेतका माया थापा रु.२० हजार र प्रमाण पत्रसहित गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभयो । साधारणसभाबाट करिब दुई दर्जन पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।

साधारणसभामा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष क्रमशः शिव लम्साल, गणेश बस्नेत, बिष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीलगायतका संगठनका प्रमुखहरुले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा भोलि शनिबारसम्म सञ्चालन हुने साधारणसभामा देशैभरिबाट सात सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्