OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ५, २०७९सुर्खेत
२५४ पटक

५ पुस २०७९, मंगलबार

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोसन पुरीले महासंघको केन्द्रीय साधारणसभाबाट भावी योजना निर्माण हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघद्वारा यही पुस ८ र ९ गते इतिहासमै पहिलो पटक सुर्खेतमा आयोजित साधारणसभाबाट महासंघको आगामी कार्य योजना बनाइने महासचिव पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो साधारणसभाले महासंघको नीतिगत तथा वैधानिक अधिवेशनका रुपमा निर्णय गर्नेछ ।”

महासचिवले पेश गरेको महासंघको सांगठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेश गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकले प्रस्तुत गर्ने प्रतिवेदनमाथि बृहत् छलफल हुने उहाँले जनाउनुभयो ।
यो साधारणसभामा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसियट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद सदस्यको सहभागिता हुने महासचिव पुरीले बताउनुभयो । उहाँका अनुसार साधारणसभा सम्पन्न गर्न आर्थिक दायित्व महासंघ केन्द्रीय समितिले लिएको छ ।

महासंघले अधिवेशन सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताउनुभयो । संघीय सरकारले महासंघको अधिवेशनका लागि वार्षिक बजेट विनियोजन गर्दै आएको छ । सोही बमोजिम यसपटक हुने अधिवेशनको लागि बजेट व्यवस्थापन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले अधिवेशनकै लागि रु.१५ लाख बजेट व्यवस्थापन गरिदिएको बताउँदै उहाँले स्थानीय सरकारको समेत दायित्व बोध हुने भएकोले सुर्खेतस्थित स्थानीय तहसँग आर्थिक सहयोगका लागि अनुरोध जनाउनुभयो । उहाँका अनुसार सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतसहित नीजि क्षेत्रसँग अनुरोध गरिएको छ ।

राष्ट्रिय परिषद् सदस्यहरुका लागि सुर्खेतका २२ होटल व्यवस्था गरिएको महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले जानकारी दिनुभयो । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने र त्यसमा सञ्चारमन्त्री, अर्थमन्त्री, राष्ट्रिय दलका प्रमुख एवम् प्रतिनिधि, मुख्यमन्त्री, सुर्खेतस्थित स्थानीय तहका प्रमुखहरु र विभिन्न संघ संगठनका प्रमुखहरुको उपस्थिति रहने जनाइएको छ । त्यस्तै, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायतको उपस्थिति हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्