OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २, २०७९जुम्ला
५२० पटक

२ पुस २०७९, शनिबार

तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् ।

उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो ।

“वि.व्य.स.अध्यक्ष छान्नका लागि सातौं पटक बैठक बस्दा पनि सहमति हुन सकेन,” प्रधानाध्यापक बस्नेतले भन्नुभयो, “उनीहरुले चुनाव गर्नैपर्छ भनेपछि शुक्रबार चुनावको तयारी थियो । तर वडाध्यक्षले मदिरापान गरेर ममाथि हातपात गरे र उनका दुई छोरा अँझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु ।”

दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडितले बताउनुभयो । प्रधानाध्यापक बस्नेतका अनुसार वडाध्यक्षको समुहले आफू स्थायी भएकोले नियमानुसार प्रअ भएकोमा उनीहरुले अस्थायी÷करार शिक्षकलाई प्रअ बनाउन दबाब दिँदै आएका छन् । उनीहरुले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्न सुरक्षा चुनौति भएको उहाँले दुखेसो गर्नुभयो ।

यता वडाध्यक्ष आँसे बस्नेतले झगडा हुँदा दुवैबीच हानाहान भएको र पछि आफ्नो छोरा तिलक र सागरले पनि हानेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “झगडा खास सामाजिक विषयमा भएको हो । अहिले व्यक्तिगत जस्तो भयो । हामी १३ दिनेभित्रै पर्छाैं । जनप्रतिनिधिका हिसाबले नहुनुपर्ने भयो, गलत जस्तो भयो । अब मिलेर जाने प्रयास गरौंला ।”

पीडितले अस्थायी÷करार शिक्षकलाई प्रअ बनाउन निर्वाचन गर्ने वातावरण बनाएको आरोप लगाएका छन् भन्ने प्रश्नमा वडाध्यक्षले त्यस विषयमा केही बोल्न चाहानुभएन । वि.व्य.स. काे चुनावका लागि गाउँपालिका शिक्षा शाखाबाट खटिएका प्रतिनिधि दीपेन्द्रबहादुर हमालले प्रअ र वडाध्यक्षकाे झगडा सकिएपछि मात्र त्यहाँ पुगेकाेले आफुलाई कुनै जानकारी नभएकाे बताउनुभयाे । यद्यपि प्रअ अलि बढी घाइते भएर स्वास्थ्य विज्ञानमा उपचाररत अवस्थामा रहेकाे सुनिएकाे उहाँले जनाउनुभयाे । शुक्रबार भएको विवादका कारण उक्त विद्यालयको चुनाव स्थगित भएको छ ।

 

प्रतिकृया दिनुहोस्