OnlinePana

आज : २०८१ पौष १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २५, २०७९काठमाडौं
३०८ पटक

२५ मंसिर २०७९, आइतबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चावी माओवादीसँग भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाब किताब नगरी अन्तराष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।”

माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै अध्यक्ष प्रचण्डले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको जनाउनुभयो । “सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उहाँले भन्नुभयो, “६० सिटको कमाण्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौं सरकार त्यही बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताउनुभएका उहाँले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउने खोजेपनि स्थिति त्यस्तो नभएको जनाउनुभयो ।

अन्तराष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सहि ढंगले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरुको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारका माध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सहि बजारीकरण गर्नसमेत आग्रह गर्नुभयो ।

प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रविधिको जति विकास भएपनि सहि सामग्री उत्पादन प्रधान कुरा रहेको बताउनुभयो । “हामीसँग श्रम छ तर पूँजी छैन भने सहकारीमार्फत सञ्चार माध्यम सञ्चालन गर्न जरुरी छ,” उहाँले भन्नुभयो, यो कोणबाट अगाडि बढ्न सकिए संगठनले जीवन्तता र गतिशीलता पाउँछ ।”

सम्पन्न बैठकमा प्रेस सेन्टरका प्रवास अध्यक्ष ओम शर्मा, केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा, सबै प्रदेश तथा प्रतिष्ठानका इञ्चार्ज तथा अध्यक्ष र केन्द्रीय समितिका पदाधिकारीहरुबीच समीक्षात्मक अन्तरक्रिया तथा छलफल भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्