OnlinePana

आज : २०८१ माघ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २४, २०७९जुम्ला
२९८ पटक

 

२४ मंसिर २०७९ शनिबार

कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाईन टिकट वितरण प्रणाली व्यवस्थापनको माग गरिएको छ ।

दुर्गम हिमाली जिल्लामा हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकहरुको सहज यातायातका लागि अनलाईन टिकट अनिवार्यरुपमा लागु हुनुपर्ने माग गरिएको हो । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्गमका नागरिकहरुको हवाई यातायातको समस्या सम्बोधनका निम्ति आवश्यक पहलका लागि गृह मन्त्रालय, शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई अनुरोध गरिएको बताउनुभयो ।

“गमगढीसम्म सडक जोडिएतापनि भौगोलिक विकटता र जीर्ण सडकले यातायात नियमित र व्यवसायिक हुन सकेको छैन,” उहाँले भन्नुभयो, “यहाँका बिरामी, अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित रारा आउने पर्यटकका लागि यातायातको एकमात्र विकल्प हवाई यातायात हो ।” यसमा अनलाईन टिकटको व्यवस्था नहुँदा कालोबजारी बढ्नुका साथै टिकट लिनका लागि अनावश्यक भिडभाड र झै–झगडा हुँदा शान्ति सुरक्षा प्रदान गर्नमा समेत चुनौति थपिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा सेवारत नेपाल एयरलायन्स, सीता, तारा, समिट एयरलायन्सले हवाई टिकट व्यवस्थित नगर्दा यात्रुहरुले हैरानी खेप्नु परेको छ । मुगुलगायत माथिल्लो कर्णालीका सबै जिल्लाका यात्रुहरुको चापको अनुपातमा नियमित हवाई उडान र त्यसका लागि एयरलायन्सहरुको हवाई टिकट वितरण अनलाईन प्रणालीमार्फत हुन सकेमात्र यहाँका नागरिकहरुलाई सहजता मिल्ने प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो । उहाँले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सबै एयरलायन्सहरुलाई बोधार्थ दिएको जानकारी दिनुभयो ।

अनलाईन टिकट वितरण सञ्चालनमा ल्याउन जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सर्वदलीय बैठक बसेरै यस अघि निर्णय गरिसकेको बताउनुभयो । कर्णालीको हवाई उडानका समस्या सामाधानका लागि पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले गत असोज ३० गते संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, निगमका अध्यक्ष क्याप्टन रामेश्वर थापा, नीजि कम्पनीका सञ्चालकहरुलाई ध्यानाकर्षणसहित मागपत्र बुझाएको थियो ।

प्रतिकृया दिनुहोस्