OnlinePana

आज : २०८१ पौष २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७९सुर्खेत
३७३ पटक

१५ मंसिर २०७९, बिहीबार

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कर्णालीको इतिहासमा महासंघले पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम गर्न लागेको बताउनुभएको छ ।

महासंघको आयोजना तथा कर्णाली प्रदेशका सबै शाखाहरुको सहकार्यमा आसन्न पुस ८ र ९ गते सुर्खेतमा हुन लागेको केन्द्रीय साधारणभसभा सम्पन्नताको लागि गठित सचिवालयको आज सुर्खेतमा उद्घाटन गर्दै अध्यक्ष पोखरेलले राष्ट्रियस्तरको यो कार्यक्रम कसैले तोड्न नसक्ने गरी ऐतिहासिक अभिलेख रहने बताउनुभयो । उहाँका अनुसार साधारणसभा उद्घाटनका लागि राष्ट्रपतिलाई आमन्त्रण गरिनेछ ।

पोखरा साधारणसभाबाट परिमाजिर्तन विधान अनुसारको राष्ट्रिय परिषद् सदस्यहरुको पहिलो राष्ट्रिय सम्मेलन भएको बताउँदै अध्यक्ष पोखरेलले संशोधन विधान कार्यान्वयनका चरणमा कर्णालीबाटै अगाडि बढ्ने जनाउनुभयो । साधारणसभाका लागि मूल समिति आफ्नै नेतृत्वमा रहेको जनाउँदै कर्णाली प्रदेश पत्रकार महासंघका पदाधिकारी तथा यहाँका दशवटै जिल्लाको अध्यक्ष मूल समितिमा रहेको उहाँले बताउनुभयो ।

साधारणसभामा सबै क्षेत्रको प्रतिनिधित्व रहनेछ,” अध्यक्ष पोखरेलले भन्नुभयो, “कर्णालीबाटै घोषणा पत्र जारी गरी मुलुकलाई नयाँ सन्देश दिने र आगामी पुस्ताका लागि दस्ताबेज छोड्ने योजनाका साथ साधारणसभा सम्पन्न गर्दैछौं ।” विधान कार्यान्वयनका सन्दर्भमा यो पहिलो साधारणसभा हुने भन्दै यसमा पाँच सय २५ राष्ट्रिय परिषद् सदस्य कार्यक्रममा सहभागी उहाँले बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा संयोजकतत्वको समितिले आमन्त्रित सबैलाई आवास तथा भोजनको व्यवस्था गर्ने उहाँले जनाउनभयो । पत्रकारिता क्षेत्र, राज्य सञ्चालकहरु र नागरिक समाज सबैमा नयाँ उर्जा आउने गरी कार्यक्रम हुने अध्यक्ष पोखरेलको भनाई थियो । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न उहाँले मूल समितिका सबैलाई आ–आफ्नो भूमिका र जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्