OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २९, २०७९सुर्खेत
२६४ पटक

२९ कात्तिक २०७९, मंगलबार

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते बाम–लोकतान्त्रिक र राजावादी गठबन्धनबीचको चुनावी प्रतिस्पर्धा हुन थालेको बताउनुभएको छ ।

दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाम–लोकतान्त्रिक र एमालेसहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा बाम–लोकतान्त्रिक गठबन्धनको जीत सुनिश्चित भएको दावी गर्नुभयो ।

देशैभरिक बाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनमत आउने जिकिर गर्दै उहाँले भन्नुभयो, “तत्कालीन कर्णाली राज्यको ग्रीष्मकालीन राजधानी सिंजा पछिको शीतकालीन राजधानी दुल्लु दैलेखको पुरातात्विक एवं ऐतिहासिक संरक्षणसहित पर्यटकीय विकास गर्छौं । सदन भंग गरेर संविधान सिध्याउने विरुद्ध गठबन्धन सदाका लागि हुन्छ ।”

संविधान बचाउन र प्रतिगमन रोक्न बनेको गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराउन प्रधानमन्त्री देउवाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । विकासमा दैलेखलाई उच्च प्राथमिकतामा राखिने उहाँको भनाई थियो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्र रक्षाको लागि निर्माण बाम–लोकतान्त्रिक गठबन्धन संविधानमाथि हमला हुन्जेलसम्म कायम रहिरहने बताउनुभयो । उहाँले गठबन्धन चुनावका लागि नभई संविधान र जनताको अधिकार रक्षाका लागि भएको जनाउनुभयो ।

“यो चुनाव बिगतको जस्तो सामान्य नभई संविधान रक्षा गर्ने र त्यसलाई खोस्नेबीचको हो,” अध्यक्ष दाहालले भन्नुभयो, “कसलाई भोट हाल्ने र जिताउने भन्ने कुरा जनताको भागमा छ ।” शान्ति र संविधानका पक्षमा उभिएको गठबन्धनको देशभरिको स्थितिलाई हेर्दा जीत सुनिश्चित रहेको उहाँले दाबी गर्नुभयो ।

पुरातात्विक ऐतिहासिक महत्व बोकेको भौतिक तथा पर्यटकीय विकासलाई गम्भीरताका साथ हेरिने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले मुलुकको शान्ति, विकास र समृद्धिका लागि बाम–लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको जिकिर गर्नुभयो ।

प्रतिकृया दिनुहोस्