OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २७, २०७९सुर्खेत
२६७ पटक

२७ कात्तिक २०७९ आइतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका शीर्ष नेतृत्वलाई प्रमुख प्रतिपक्षी दलको नेता टुङ्गो लगाउन कटाक्ष गर्नुभएको छ ।

कर्णालीका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा सुर्खेतमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले मंसिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने ठोकुवा गर्नुभयो । उहाँले नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै भन्नुभयो, “अब प्रमुख प्रतिपक्षी दलको नेताको टुङ्गो लगाउनुस् । संभवतः ठूलो दलको हिसाबले देउवा नै दल नेता हुनुहुन्छ होला ।”

गठबन्धन दललाई संकेत गर्दै उहाँले अगाडि भन्नुभयो, “सयौं स्यालहरुको समुहले एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन । फुटेका हाँडा खपेटा जोडेर कुनै शक्ति तयार हुँदैन ।” गठबन्धन भनेर आ–आफ्नै घोषण पत्र बनाउनेहरुले एउटा साझा घोषणा पत्र बनाउन नसकेको टिप्पणी अध्यक्ष ओलीले गर्नुभयो ।

सम्बोधनको क्रममा उहाँले गठबन्धनलाई आगामी मंसिर ४ गतेका दिन नेपाली जनतालाई मुखभरि नभई मुखमै नअट्ने जवाफ दिन अपिल गर्नुभयो । जनताको पीर मर्कालाई बुझ्न सक्ने शक्ति एमाले भएको सुर्खेतलगायत कर्णालीका जनताले साथ दिने उहाँको जिकिर थियो ।

विकासको मूलवाहक एमाले भएको जिकिर गर्दै उहाँले एकसयबाट सुरु गरेको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक रु.चार हजार पुगेको बताउनुभयो । पाँच पटक प्रधानमन्त्री भएका देउवालाई प्रश्न गर्दै उहाँले भन्नुभयो, “तपाई उठ्यो कि एमालेले गरेका काम देख्नुहुन्छ । तर तपाई गरेका काम के हुन् देखाई दिनुस् ।”

पाँच पल्ट प्रधानमन्त्री भएर पनि नेपालका दुईवटा छिमेकी देश मध्ये उत्तरतिर बाटो खोल्न नसकेको र त्यहाँ एमालेले आफ्नो क्षमता देखाएको भन्दै उहाँले प्रम देउवासँग काम गर्ने हुती नभएको टिप्पणी गर्नुभयो ।

माओवादी अध्यक्ष ‘प्रचण्ड’लाई विचौलियाको आरोप लगाउँदै ओलीले भन्नुभयो, “जनताको जनादेशमा जाने कुराको विरुद्धमा हिड्नु प्रतिगमन हो प्रचण्ड जी ?” ताजा जनादेशमा जानु विल्कुल संवैधानिक भएको उहाँले तर्क गर्नुभयो । ओलीले कालीकोटको रास्कोट, दैलेखको दुल्लु जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगको चुनावी आमसभालाई सम्बोधन गरेर ५ः०० काठमाडौं फर्कनुभएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुर्खेत क्षेत्र नं.(क)का प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेलले मंसिर ४ गते एमालेको पक्षमा जनताले फैसला गर्ने बताउनुभयो । सिद्धान्त, विचार र कार्यक्रम नमिलेपनि आफ्ना स्वार्थ सिद्ध गर्न गठबन्धन नाम गरेको पार्टीसँग आफ्नो प्रतिस्पर्धा हुने उहाँको भनाई थियो ।

नेता कँडेलले भन्नुभयो, “गठबन्धन संविधान बचाउन नभई आफ्नो प्रधानमन्त्री बनाउन र एमालेलाई एक्ल्याउनका लागि हो । एक्ल्याउन खोजिएपनि एमालेले उठाएका मुद्दाका कारण विजय सुनिश्चित गर्छ ।” त्यसका लागि भने जनताले न्यायधीशको काम गर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्