OnlinePana

आज : २०८१ पौष ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २५, २०७९जुम्ला
७५५ पटक

२५ कात्तिक २०७९, शुक्रबार

शीत भण्डारमा राखिएका बाहेक अब जुम्ली ताजा स्याउ पाउने सिजन करिब सकिएको छ । साउन, भदौ र असोजमै जुम्लाबाट स्याउ बाहिरिने क्रम कार्तिकपछि अफसिजन जस्तै हुन्छ ।

जिल्ला कृषि कार्यालय जुम्लाका अनुसार र चालु आव.मा ०७९÷८० उत्पादित १८ हजार मेट्रिक टन स्याउमा ५० प्रतिशत तल झरेको छ । उक्त परिमाणमा स्याउ झरेपनि त्यसले उचित मूल्य पाउन नसकेको व्यापारीले दुखेसो गरेका छन् ।

सिंजनमा स्याउ प्रति केजी रु.५० देखि ५५ हालेका व्यापारीले प्रति केजी रु.६७ देखि ७० मा बिक्री गरेपनि अहिले त्यही स्याउ घैयाको भाउमा फाल्नु परेको दुखेसो चन्दननाथ नगरपालिका ८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायत व्यक्त गर्नुभयो । उचित मूल्यको आशा गरेर सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौंसम्म अर्गानिक स्याउ पुर्याएको उहाँले जनाउनुभयो ।

“मैले जुम्लाबाट प्रति किलोग्राम रु.५० हालेर स्याउ खरिद गरें । कार्टुन खरिद र गाडी ढुवानीसहित प्रति किलो रु.६० मा नेपालगञ्ज पु¥याएँ,” उहाँले भन्नुभयो, “तर अहिले प्रति किलोग्राम रु.३० मा बेच्नु परेको छ । भारतीय स्याउ प्रति किलोग्राम रु.१२० मा बिक्री भइरहँदा हाम्रो अर्गानिक स्याउ घैयाको भाउमा बेच्नु परेको छ ।”

कोहलपुरमा शीत भण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिनु भन्दा सस्तो भएपनि बेच्नै पर्ने बाध्यता आइलागेको उहाँको भनाई छ । नाम चलेको जुम्लाको अर्गानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले जनाउनुभयो ।

यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्ताहरुले पनि जुम्ली अर्गानिक स्याउको महत्व नबुझेको तातोपानी गाउँपालिका २ जुम्लाका बीरेन्द्र डाँगले बताउनुभयो ।मण्डीवालाहरुले नै प्रति किलोग्राम रु.३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीले जनाउनुभयो ।

“विदेश जानु भन्दा दुई रुपैयाँ भएपनि आफ्नै देशमा कमाएर बसौं भन्ने सोचियो,” उहाँले भन्नुभयो, “अहिले यही गर्न खोजेको व्यवसाय पनि डुब्न अवस्थमा पुग्यो ।” यही कारण पनि रोजीरोटीका लागि विदेशिनुको विकल्प छैन भन्ने जस्तो बनाएको उहाँले बताउनुभयो ।

सिंजा गाउँपालिका १ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगञ्ज पु¥याएको १२ मेट्रिक टन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीले जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी नेपालीहरु आफ्नो उत्पादनलाई हेला गरेर विषादी मिसाएका विदेशी वस्तुलाई चिल्लो देखेर त्यसैमा झुम्मिन्छौं । यो नै हाम्रो ठूलो कमजोरी हो भन्ने अनुभूति भयो ।”

सरकारले किसानको उत्पादन, व्यवसायी उद्यम र त्यसका लागि बजार सुनिश्चित गर्ने कुरामा ध्यान नदिँदा स्वरोजगार हुन खोज्ने युवाहरुमा पनि नैराश्यता बढ्दै गएको खत्रीले बताउनुभयो । कुनैपनि युवाहरुका लागि सरकारले काम गर्ने वातावरण नबनाए आफूसहित ग्रामीण क्षेत्रका युवा विदेश पलायन हुनै पर्ने बाध्यता आइलागेको उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्