OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १७, २०७९सुर्खेत
१८८ पटक

१७ कात्तिक २०७९, बिहीबार

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर बसेको अन्तर जिल्ला सुरक्षा समितिको बैठक राकम कर्णालीको किनारमा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आज आठबीस नगरपालिका ४ दैलेख राकमस्थित कर्णाली नदीको किनारमा अन्तर जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेको हो । बैठकमा कर्णालीका दैलेख र कालीकोट तथा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको सहभागिता रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयो ।

“बैठक आसन्न निर्वाचन, अपराधिक गतिविधिको रोकथाम, राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको सञ्चालनमा निरन्तरता र विपद् व्यवस्थापन लगाएतका विषयमा केन्द्रित रह्यो,” उहाँले भन्नुभयो, “यहाँका दुई ठूला कर्णाली र मध्यपहाडी राजमार्गमा सहज र सुरक्षित सवारी आवागमन, चोरी निकासी नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण गर्न तीनवटै जिल्लाहरुबीच समन्वय तथा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको छ ।”

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले कर्णाली नदि किनारमा बसेको तीन जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले १० बुँदे निर्णयहरू गरेको जनाउनुभयो । अछाम जिल्लाका लागि निर्वाचनका गतिविधि कर्णाली राजमार्गबाट हुने भएको र तीन जिल्लाको सुरक्षा खतरालाई ध्यानमा राखेर निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी हमाल, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेय, दैलेख, कालिकोट र अछाम जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्