OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ६, २०७९सुर्खेत
१८२ पटक

६ कात्तिक २०७९ आइतबार

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र संघीयताको रक्षा भएको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा आइपुग्नुभएका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताउनुभयो । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएकाले गठबन्धन लामो समय टिक्नेसमेत दावी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको हो । यसको जीतका लागि सबै मिल्नुको विकल्प छैन । गठबन्धन विरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दछु ।” उहाँले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न प्रदेशका नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

कर्णाली आर्थिक समृद्धिको प्रमुख आधार भएको बताउनुभएका प्रधानमन्त्री देउवाले यहाँको विकास र समृद्धिको लागि सरकार लागिरहेको जनाउनुभयो । “गठबन्धन दललाई यो चुनावमा जिताउनुस्, पाँच वर्षभित्रै हामी परिणाम देखाउँछौं,” उहाँले भन्नुभयो ।

उक्त संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनमा कर्णाली तथा सुदूरपश्चिमले खेलेको भूमिकालाई गहिरो अनुभूति गरेको र त्यसको न्याय गर्न नेतृत्व सचेत रहेको बताउनुभयो । कर्णालीबाट नै प्रतिगमनविरुद्धको विद्रोह भएको उहाँको भनाई थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालीन् शान्ति सम्झौता र गणतन्त्रको विरोधी भएको आरोप लगाउनुभयो । “ओलीको त्यही प्रतिगमनविरुद्ध यो गठबन्धन जन्मेको हो । यसलाई कसैले पनि हल्कारुपले लिनु हुँदैन,” अध्यक्ष दाहालले भन्नुभयो, यसले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशिताको रक्षा गरेको छ ।” त्यसैले संविधान मिच्नेका विरुद्धको यो गठबन्धन हो ।”

गठबन्धनले कर्णालीमा शतप्रतिशत जित्ने पूर्ण विश्वास लिएको रहेको बताउँदै उहाँले कर्णालीको विकास र राजनीतिक स्थिरताका लागि जीत आवश्यक रहेको जनाउनुभयो । गठबन्धन निर्माण भएबाट प्रतिगमनलाई परास्त गर्दै आएको र यो चुनावबाट पनि परास्त गरिने उहाँले दावी गर्नुभयो ।

उत्तेजित नभई संयमताका साथ चुनावी सफलता हात पार्ने गरी गठबन्धनका नेता तथा कार्यकर्तालाई अभियानमा कटिवद्धताका साथ लाग्न अनुरोध गर्दै उहाँले आर्थिक क्रान्तिसहित मुलुकको समृद्धिका लागि पनि गठबन्धनको विजय अपरिहार्य रहेको र यसका निम्ति गठबन्धनका नेताहरुबीचको विचार र भावनाको गहिरो एकताको सन्देश लिएर देशभरि हिडेको बताउनुभयो ।

युद्धलाई शान्तिमा रुपान्तरण गर्न तत्कालीन् काँग्रेस सभापति गिरिजाप्रसाद कोईराला, आफू र माधव नेपालको धेरै ठूलो योगदान रहेको स्मरण गर्दै उहाँले इतिहासको मुद्दालाई महानताका साथ लगिएको र त्यही अनुसार अघि बढ्न अपिल गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले समाजवादको यात्रालाई अगाडि बढाउन गठबन्धन जरुरी रहेको जनाउनुभयो । जनतालाई गरिबी, अशिक्षा र भोकमरीबाट मुक्त पार्न गठबन्धनको जीतले मात्र सुनिश्चित गर्छ,” अध्यक्ष नेपालले भन्नुभयो, “तसर्थ देश र समाज परिवर्तन, जनताको जीवनस्तर उकास्न, देशको स्वाभिमान माथि उठाउन गठबन्धन गरिएको हो ।”

गठबन्धनको प्रतिवद्धता र घोषणापत्र अगाडि सारिएको बताउनुभएका उहाँले त्यही प्रतिवद्धता पत्र लिएर घरदैलो गर्न गठबन्धन दलका प्रदेश तथा स्थानीय नेतृत्वलाई अपिल गर्नुभयो । गठबन्धनको जीतबाट मात्र प्रतिगमन समाप्त पार्न सकिने जनाउँदै उहाँले देशको उन्नति र प्रगतिका लागि प्रतिवद्ध भएर लागेमात्र ओली प्रवृतिलाई परास्त सकिने बताउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताउनुभयो । “अहिलेको हाम्रो अभियान भनेकै गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधानको रक्षा गर्ने हो”, उहाँले भन्नुभयो, “तसर्थ, अब यो दल वा त्यो दल नभन्नुहोला । गठबन्धनका सबै उम्मेदवारहरुलाई आफ्नै उम्मेदवार भनेर भोट हाल्न अनुरोध गर्दछु ।”

कर्णालीका कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रको चुनाव चिन्ह हसिँया हथौडासँग नडराउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोरइलालेदेखिको अभियानलाई जोडेर यतिबेला लोकतन्त्रको रक्षा र यसको उन्नतितर्फ अगाडि बढाउने बाटो अवलम्बन गरिएको उहाँको भनाई थियो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले गठबन्धन जीतले मात्र समग्र मुलुकको विकास र समृद्धि संभव हुने बताउनुभयो । गठबन्धनको साझा उद्देश्य पुरा गर्न, मुलुकको संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षाको लागि अबको चुनाव जीत गठबन्धनकै पक्षमा ल्याउन उहाँले पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस्