OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १९, २०७९जुम्ला
२४२ पटक

१९ असोज २०७९, बुधबार

तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँ निवासी लंकबहादुर शाही यतिबेला जापानबाट घर पुग्नुभएको छ । चार वर्षपछि शाही घर फर्केपछि परिवारमा खुशीको सीमा छैन । माटोले छाएको घरभित्रको न्यानोपनमा उनीहरुले न्यानो माया साट्दै गरेको दृश्य निकै शान्त र प्रिय देखिन्छ ।

लामो समयसम्म जागिरे जीवनमा रहेर यसपटक घर फर्केका जगतबहादुर शाहीको घरमा पनि उत्तिकै खुशी छ । छोरो घर नपुगुञ्जेल विश्वास नमानेकी शाहीका आमा रुपा शाही छोराको साथमा बुहारी देखेपछि खुशीले गद्गद् हुनुहुन्छ । प्रतिनिधिमूलक ती दुई परिवारको लामो समयपछिको मिलनले घरभित्र देखिएको खुशी अन्य परिवारमा पनि त्यसरी नै देखिन्छ ।

यद्यपि आजको यो दसैंमा हिमाली जिल्लाका लेकहरुमा हिमपात भएको देखिन्छ भने बेसीमा पानी पर्न सुरु गरेको छ । शिरशिरे हावा लागेर आजको दिन निकै चिसो हुँदै गएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैंको शुभ साईत तालिका अनुसार बिहान ११ः५१ बजे टिका लगाउने समय छ । पानी परेकाले हिमाली जिल्लाको यो साइतमा सबै जम्मा हुने अवस्था देखिदैन ।

बिगतका वर्षझैं यस वर्ष हिमाली जिल्लामा माटोको घरको छत वा आँगनमा राडीपाखी ओछ्याएर सबैको सन्निकटमा टिका जमरा लगाउने समय वर्षा र चिसोको कारण प्रतिकूल बनेको छ । यसले गर्दा हिमाली जिल्लावासीहरुलाई यसपालिको दसैंको मौलिक मज्जा र आनन्द लिन असजिलो भएको कर्णालीका भाषासेवी तथा संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो ।

“दसैं वर्षभरि टाढा रहेका परिवारका सदस्य, आफन्त तथा ईष्ट मित्रजनहरु बीचको पुनःमिलन हो । भेटघाटको त्रिवेणी हो,” आचार्यले भन्नुभयो, “यसले हामीबीचको सम्बन्ध र माया प्रेमलाई प्रगाढ बनाउँछ । बलियो बनाउँदै लग्दछ ।” तर चिसो र हिलोका कारण यो पटकको दसैं भने अनुसार रमाईलो नहुने उहाँले बताउनुभयो ।

विदेशी भूमि छोडेर घर फर्किएकाहरुलाई भने चिसो र हिलोले खासै फरक पारेको छैन । लामो समयपछिको पारिवारिक मिलनले होला आज बढेको चिसोले पनि न्यानोपन दिएको महसुस भएको साँपुल्ली गाउँ निवासी लंकबहादुर शाहीले प्रतिक्रिया दिनुभयो । वर्षा आज भएपनि भोलि पक्कै आकाश खुल्ला,” उहाँले भन्नुभयो, “मुख्य कुरा बुढो आमा बुबा र परिवारसँगको भेट हो । भेट भयो यसैमा खुशी छु ।”

गाउँमा छरछिमेक, साथीभाई तथा आफन्तसँग भेटले निकै खुशी तुल्याएको बताउँदै उहाँले दसैं मनाएर केही दिनपछि पुनः जापान फर्किने बताउनुभयो । यता नेपाली सेनामा कार्यरत जगत शाहीले पनि एक हप्ताको छुट्टीपश्चात् कार्य क्षेत्रमा फर्किने जनाउनुभयो ।

“बाहिर चिसो छ तर हामीले घरभित्र न्यानोपन साटिरहेका छौं,” उहाँले भन्नुभयो, “खुला आँगनमा स्वतन्त्र ढंगले नाचगान गर्न पाएका छैनौं । तरपनि लिनपर्ने रमाईलो भइरहेको छ ।” बुबा आमा र जीवन संगिनीको खुशीले आफूलाई थप खुशी मिलेको शाहीले बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्