२२ भदौं २०७९, बुधबार
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जुम्ला कालीकोट निरीक्षण गरेर फर्कनुभएको छ ।
जुम्ला र कालीकोट जिल्ला प्रहरी कार्यालय र मातहतका सुरक्षास्थलहरुको वस्तुस्थितिबारे बुझ्न प्रहरी नायब महानिरीक्षक पोखरेल सोमबार कालीकोट जानुभएको थियो । मंगलबार जुम्ला पुगेर त्यहाँको वस्तुस्थितिको अवलोकन गरी आज कालीकोट हुँदै सुर्खेत फर्केको प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
“जुम्लामा जिल्ला प्रहरी कार्यालयको भौतिक संरचना छैन र त्यहाँको निर्माणाधिन संरचनाका विषयमा मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ र आज मुद्दा मिल्यो भन्ने सुनेको छु तर बाटोमा भएकोले बुझ्न पाएको छैन । अब निर्माण कार्य पनि सुचारु होला,” उहाँले भन्नुभयो, “यद्यपि भौतिक संरचना नभएपनि टहरामा बसेर प्रहरीले नागरिकलाई सेवा प्रवाह गर्ने कार्यमा कुनै कमी गरेको छैन ।”
जुम्लालगायतका जिल्लामा निर्माणाधिन संरचना प्रदेश सरकारको बजेट लगानी रहेकोले अदालतको फैसलापछि काम सुरु हुने जनाउँदै प्रहरी नायब महानिरीक्षक पोखरेलले पहाडी जिल्लामा सुविधायुक्त प्रहरी संरचना नभएको बताउनुभयो । आसन्न मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिक आईरहेकोले प्रहरी प्रधान कार्यालयबाट आएको निर्देशन सुरक्षाको तल्लो तहसम्म सम्प्रेषण गर्ने ध्येयले त्यहाँ पुगिएको उहाँले जनाउनुभयो ।
दुवै जिल्लाका प्रहरी कार्यालय, त्यहाँको भौतिक संरचना, सेवा प्रवाह र सुरक्षा तथा जनशक्ति व्यवस्थापनको अवस्था बुझेर सुर्खेत फर्केको उहाँले बताउनुभयो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले प्रहरी नायब महानिरीक्षक पोखरेलले यस अघि सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेख अनुगमन गर्नुभएको र पछिल्लो चरणमा डोल्पा, हुम्ला र मुगु अनुगमन गर्ने जनाउनुभयो ।