OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १०, २०७९सुर्खेत
५०५ पटक

१० भदौ २०७९, शुक्रबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रिपरिषद् समावेशी बनाउन प्रदेशसभा सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस गरेको छ ।

दलको आजको बसेको बैठकले शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री कहाँ सिफारिस पत्र पठाएको छ । यसका लागि माओवादी केन्द्रले आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो । केन्द्रका अनुसार शाह योजनामन्त्री र कामी उर्जा विकासमन्त्री बन्ने देखिएको छ ।

प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादी केन्द्र प्रदेशसभा दलले जानकारी दिएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बहालवाला मन्त्रीद्वय सक्षम हुँदा हुँदै मन्त्रिपरिषद् समावेशी बनाउने उद्देश्यले शाह र कामीलाई मन्त्रीको सिफारिस गरिएको बताउनुभयो ।

“सकेसम्म मुख्यमन्त्री तथा सत्ता गठबन्धनभित्रका अन्य दलले मन्त्रिपरिषद् समावेशी बनाए हुन्थ्यो,” अध्यक्ष केसीले भन्नुभयो, “समानुपातिक समावेशी सिद्धान्तको एजेण्डाको प्रमुख नेतृत्वकर्ता माओवादी भएकाले सरकारमा महिलाका तर्फबाट शाह र दलितको तर्फबाट कामीलाई पठाउने निर्णय भएको हो ।”

शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । दुई जनाले प्रदेशसभा सदस्यले पार्टीबाट राजीनामा दिएपछि हाल कर्णाली प्रदेशसभामा माओवादीका ११ प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्