OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०७९सुर्खेत
३०७ पटक

४ भदौं २०७९, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदहरुले देखाएको बाटो र सपना पुरा गर्न सकेमात्र संघीयता बलियो हुने बताउनुभएको छ ।

‘प्रदेश स्थापना तथा शहीद दिवस २०७९’ को अवसरमा आज उहाँले स्वदेश तथा विदेशमा रहनुभएका कर्णालीवासी आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । संघीय व्यवस्था बलियो एवं दीगो तथा प्रभावकारी बनाउन प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक अधिकार नदिएर केन्द्रसँगै राख्दा प्रदेश सरकार कमजोर बनेका छन् । यसले संघीय व्यवस्था मजबुत हुन सक्दैन । प्रदेश सरकारहरुलाई बलियो बनाउन सकेमात्र संघीयता बलियो हुन्छ । आन्दोलन र चार शहीदहरुको बलिदानबाट सबैभन्दा कान्छो प्रदेशका रुपमा आजको दिन कर्णाली प्रदेशको स्थापना भएको हो ।”

दशकौंदेखि पछाडि पारिएको कर्णालीलाई संघीय संरचनामा सुदूरपश्चिमसँग जोडेपछि त्यसको विरोधमा छुट्टै प्रदेशको माग गर्दै विसं. २०७२ साउन २३ देखि भदौं ४ गतेसम्म कर्णालीमा ठूलो आन्दोलन भएको थियो । प्रदेश प्राप्तिको उक्त आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवार शहीदको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको भन्दै उनीहरुप्रति मुख्यमन्त्री शाहीले हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुएको छ ।

प्रदेश सरकारले चालु आवमा शहीद स्मृति भत्ता र उनीहरुको परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरिएको बताउँदै उहाँले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालिन सोच पुरा गर्न ‘६ ब’ को नीति अगाडि सारेको बताउनुभएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा आज कर्णाली प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाय, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बीरबहादुर शाही शहीद पार्कमा पुगेर माल्यार्पण गर्नुका साथै सरसफाई पनि गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्