OnlinePana

आज : २०८१ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०७९सुर्खेत
३०८ पटक

३ भदौं २०७९, शुक्रबार

कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ ।

प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ । समितिको सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून सचिव, जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक÷एक अधिकृत र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक सदस्य रहेका छन् ।

उक्त समितिलाई घटनाको यथार्थ विवरणसहितको प्रतिवेदन ल्याउन सात दिनको समयसीमा दिइएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछाने मृत्यु घटनाका आरोपित कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको छ ।

लामिछानेका आफन्तले वन कार्यालयका चारजना कर्मचारीविरुद्व किटानी जाहेरी निवेदन दिएका छन् । जसमा सहायक वन अधिकृत, फरेष्टर, दुई वन रक्षक रहेका छन् । वनका कर्मचारीहरुले कार्यालय प्रमुखको आदेश अनुसार सालको रुख काट्दै गरेका लामिछानेलाई लिएर वन कार्यालयमा बुझाएको तर उनको मृत्युमा आफुहरुको कुनै कसुर नभएको बताएका छन् ।

कर्तव्य पालना गर्दा बिहीबार देखि नै पक्राउ पूर्जी र उजुरी विना प्रहरी हिरासत राख्दा मनोबल गिरेको र आफूहरु अन्यायमा पारेको उनीहरुले गुनासो गरेका छ । कर्मचारीहरुले लामिछानेलाई बिहीबार वन कार्यालय पुर्याएर इजलास कक्षमा राखेको समयमा बेलुका ५ः१० बजे झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्