

१ भदौं २०७९, बुधबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट रु.दुई लाख ७६ हजारसहित कागजात नियन्त्रणमा लिएको छ ।
आयोगका सूचना अधिकारी भेषराज रिजालले आज पत्रकार सम्मेलन गरी जन माविले विना रसिद विद्यार्थीबाट असुलेको रु.दुई लाख ७६ हजार ६९० रकमसहित कागजात नियन्त्रणमा लिएको जानकारी दिननुभयो । वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत बीच बजारमा रहेको साधन स्रोतले पूर्ण मानिने सुर्खेतकै सबैभन्दा पुरानो जन माविले नेपालको संविधान, सम्मानित उच्च अदालत सुर्खेतको विसं.२०७८ जेठ २३ गतेको अन्तरिम आदेश र मंसिर १ गतेको परमादेश विपरीत विद्यार्थीबाट शुल्क असुलेकोले सो रकम नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
सूचना अधिकारी रिजालका अनुसार सम्मानित अदालतको आदेश तथा परमादेश विपरीत विद्यार्थी गर्दा रसिद नदिएर रकम असुलेको भन्ने व्यहोराको उजुरी निवेदनको आधारमा यस कार्यालयबाट खटिई गएको टोलीले सो विद्यालयमा कार्यरत कार्यालय सहायक र सूचना सहायकको टेबुलको घर्रा र दराजबाट विना रसिद विभिन्न विद्यार्थीबाट असुल गरिसकेको रकम नियन्त्रणमा लिइएको छ ।
जन नमूना माध्यमिक विद्यालयको साउन २६ गते प्रकाशित कक्षा–११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीहरुबाट भर्ना गर्दा कुनै रसिद, बिल नदिएर अवैध रुपमा रकम असुल गरी लुकाई राखेको अवस्थामा नियन्त्रणमा लिएको बताएको छ । “यसको थप अनुसन्धानका लागि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ,” उहाँले भन्नुभयो, विना रसिद शुल्क असुल गरेको भन्ने व्यहोराका यस्तै प्रकृतिका अन्य विद्यालयहरुका उजुरीउपर समेत छानबीन भइरहेको छ ।”