

२८ साउन २०७९, आइतबार
कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त उद्योगमन्त्री शाहीलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो । मुख्यमन्त्री जीवबबहादुर शाहीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखले नियुक्त गर्नु भएका नवनियुक्त मन्त्री शाहीले धारा १७२ बमोजिम उहाँसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
साउन २३ गते निवर्तमान उद्योगमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को छ महिने पदावधि सकिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हाल्दै आउनुभएको थियो । नवनियुक्त मन्त्री शाहीको शपथ ग्रहणसँगै आठ सदस्यीय कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शाहीले आजै मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ ।