OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २३, २०७९जुम्ला
२३६ पटक

२३ साउन २०७९ सोमबार

कर्णाली प्रदेश सरकराका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले आफ्नो विदाईलगत्तै सरकारी निवास छोड्नुभएको छ । सचिव मोहनदेव जोशीलगायतको मन्त्रालय परिवारले उहाँलाई सोमबार विदाई गरेको थियो ।

नेपालको संविधानको धारा १७० बमोजिम प्रदेशसभा सदस्य नभएको व्यक्ति मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गर्ने व्यवस्था रहेको छ । त्यही व्यवस्था मुताविक माओवादी केन्द्रबाट विसं.२०७८ माघ २३ गते कर्णाली प्रदेश सरकारको उद्योगमन्त्रीमा नियुक्त हुनुभएका लामाको कार्यकाल साउन २३ गते सोमबार सकिएको छ ।

आफ्नो कार्यकाल सकिएपछि विदाई हुनुभएका उहाँले सोमबार नै मन्त्री निवास छोड्नुभएको हो । उद्योगमन्त्री लामाले पदावधि सकिएपछि गाडी, सुरक्षा जनशक्ति, हतियारसहितका सबै सरकारी समान बुझाउनुभयो । उहाँले भन्नुभयो, “हरेक सार्वजनिक पद धारण गरेको व्यक्तिले विधि, नीति र नैतिकतालाई शिरमा राखेर काम काम गर्नुपर्दछ । मैले ती कुरालाई शिरोपर गरी आजकै दिनबाट सम्पूर्ण सेवा सुविधा छोडेको छु ।”

मन्त्री नियुक्त हुँदा बखत बिगतको कसुरलाई विषय बनाएर विवादमा ल्याइएका मन्त्री लामाले छ महिने कार्यकाल विवादरहित तरिकाले सम्पन्न गर्नुभएको छ । पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै मन्त्री बनेका लामाले शुरुमै भन्नुभएको थियो, “म जति समयसम्म मन्त्री रहेपनि जिम्मेवार भएर काम गर्नेछु । यो प्रण हो ।”

सत्ता र पदमा रहँदा सरकारी सम्पति दुरुपयोग गर्ने वा नैतिक भन्दा पर रहेर काम गर्नेहरुलाई आफ्नो पदावधि सकिएलगत्तै सरकारी सबै सेवा सुविधा बुझाएर उहाँले कर्णालीमा उदाहरणीय कार्य गर्नुभएको छ । पदमा बस्ने सबैले आफ्नो इमान्दारिता र जनताप्रति उत्तरदायी एवं जवाफदेही हुनुपर्छ भन्ने सन्देश मन्त्री लामाले दिनुभएको छ ।

मन्त्री पद गुमेपश्चात पनि सरकारी सेवा सुविधा प्रयोग गरेका विषयमा यस अघि संघीय तथा प्रदेश सरकरा केही मन्त्रीहरुको तीव्र आलोचना भएको थियो । छ महिनाको छोटो कार्यकालमा उहाँले मितव्ययी ढंगले कर्मचारी परिचालन, व्यवस्थापन र आर्थिक सुशासन कायम गर्न पनि त्यतिकै भूमिका खेल्नुभयो ।

२०४५ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेर हुम्लाबाट पहिलो माओवादी र निर्विरोध निर्वाचित उपाध्यक्ष बनेका उहाँले द्वन्द्वका बेला माओवादी नेताहरु मोहन वैद्य, बाबुराम भट्टराई, पोष्टबहादुर बोगटी, विप्लव, जनार्दन शर्मालगायतलाई विभिन्न तह र क्षेत्रबाट ठूलो सहयोग पुर्याउनुभएको थियो ।

पार्टीप्रति ठूलो लगानी र योगदान, कर्तव्यनिष्ठता र इमान्दारितालाई कदर गर्दै नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उहाँलाई मन्त्रीमा सिफारिस गर्नुभएको थियो । सचिव जाेशीले मन्त्रीकाे कार्यकालमा कर्मचारीहरु उर्जाशील भएर काम गरेकाे र उहाँले सबै कर्मचारीहरुप्रति मितव्ययी र समान व्यवहार गरेकाे भन्दै उच्च प्रशंसा गर्नुभयाे । राष्ट्रघात र छलछामको राजनीतिबाट विमुख उहाँले छोटो समयमा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन मन्त्री भएर आफ्नो जिम्मेवारी सफलताका साथ सम्पन्न गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्