OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ९, २०७९काठमाडौं
३६४ पटक

९ साउन २०७९, सोमबार

करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले साउन ३ गते बसेको प्रदेशसभाको दशौं अधिवेशनको २६औं बैठकमा सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएपछि स्थगित भएको बैठक आज बस्ने भएको हो । बैठक आज दिउसो ३ः०० बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

साउन ३ गते माओवादी केन्द्र बैठकबाट बाहिरिएपछि विशेष छलफलपश्चात् उक्त पार्टीलाई मनाएर बैठक सुचारु गर्ने प्रयास सभामुख शाहीले गर्नुभएको थियो यद्यपि त्यो दिन पुनः बैठक बस्न सकेन । बैठक सुचारु गर्न साउन ४ गते बुधबार दिउसो ३ः०० बजे आफ्नो संयोजकत्वमा सर्वदलीय बैठक बसालेपनि बैठक विना निष्कर्ष टुङ्गिएको थियो ।

बैठकमा केही टुङ्गो नलागेपछि उहाँले यो समस्यालाई सत्ता गठबन्धन दलभित्र समाधान गर्न सुझाउनुभएको थियो । उहाँले माओवादी केन्द्रले सदनसँग आधारित भएर राखेका मागहरु पूर्ति गर्ने गरी सम्बोधन गरिएको बताउनुभयो ।

यता सरकार प्रमुख मुख्यमन्त्री जीवनबहादुर शाहीले यो समयमा सत्ता गठबन्धन दलबीच बसाई भएको जनाउँदै हामीभित्रका असन्तुष्टिहरु हामी आफैले सम्बोधन गर्ने गरी अगाडि बढेका छौं, भन्नुभयो । मुख्यमन्त्री शाहीले तथ्य नबुझेर काम नगर्दा अवरोध आउने त्यसलाई खुलाउन सहमति र सहकार्य अपरिहार्य रहेको जनाउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले गठबन्धन दलभित्रको छलफल सकरात्मक रहेको बताउनुभयो । अहिले दलको बैठक बसेको जनाउँदै प्रमुख सचेतक शाहले बाँकी कसरी जाने विषयमा दल नेता महेन्द्रबहादुर शाहीलाई जिम्मेवारी हुने बताउनुभयो ।

मूलतः सत्ता गठबन्धन सरकारका गतिविधि, क्रियाकलाप र योजनालाई प्रभावकारी बनाएर लैजानका लागि साझा प्रयासलाई अनिवार्य शर्त बनाएर अगाडि बढ्ने सहमति र साझा धारणा बनाउन आइतबार मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादी केन्द्र प्रदेशसभा दल नेता महेन्द्रबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दल नेता चन्द्रबहादुर शाहीबीच छलफल भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्