OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ४, २०७९सुर्खेत
४१४ पटक

४ साउन २०७९, बुधबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट दुई क्विन्टल अवैधरुपमा बिक्री वितरण गर्दै आइरहेको मंगुर माछा जफत गरी नष्ट पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाईन र मंगलगढी चोकबाट दुई क्विन्टल १० किलोग्राम माछा जफत गरी नष्ट गरेको हो । अनुगमनको क्रममा प्रतिबन्धित मंगुर माछाको बिक्री वितरण भईरहेको सूचना पाएलगतै टोली त्यहा पुगेर हटियालाईनस्थित बिरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरिएको अधिृकत थापाले बताउनुभयो ।

उहाँका अनुसार जफत गरिएका मंगुर माछा आज वीरेन्द्रनगर नगरपालिका अगाडि कुइनेपानी जंगलमा गाडेर नष्ट गरिएको छ । माछा व्यवसायीलाई भने फेरि पनि अवैधरुपले प्रतिबन्धित माछ बिक्री वितरण गरेको पाइए कानून बमोजिम कारवाही हुने चेतावनी दिएर छोडिएको उहाँले बताउनुभयो ।

भारत तथा अन्तरप्रदेशबाट प्रतिबन्धित मंगुर माछासँगै ‘फर्मालिन’ प्रयोग गरेका माछाहरु जिल्लामा अवैध तवरले आयाथ नहोस् भन्ने हेतुले जिल्ला प्रशासन कार्यालयको रोहवरमा गत जेठ १८ गते बसेको बजार अनुगमन समितिसँगै सर्वपक्षीय बैठकले सुर्खेतमा मंगुर माछाको बिक्री वितरणमा रोक लगाउनु निर्णय गरेको थियो ।

विज्ञका अनुसार माछाको वर्गीकरणमा नराखिएको मंगुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गरी जल प्रदुषण हुने गर्दछ । अत्याधिक मात्रामा हेभिमेटल पाइने भएकाले उक्त माछाको सेवनबाट क्यान्सर, अर्थराइटिस, मधुमेहलगायतका घातक रोगहरु निम्तिने उनीहरुको भनाइ छ ।

उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशुपंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्