OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १, २०७९सुर्खेत
९५९ पटक

१ साउन २०७९, आइतबार

साँस्कृतिक, ऐतिहासिक महत्व र मौलिक विशेषता बोकेको ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाएर सम्पन्न गरिएको छ । तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो ।

सरकारी तथा साँस्कृतिक दुवै हिसाबले निकै महत्वपूर्ण मानिने ‘देउडा तथा साउने संक्रान्ति पर्व’ को दिनलाई विशेष महत्व दिएर आज कर्णालीका प्रदेशभर प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो । यस पर्वको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कला संस्कृति संरक्षण प्रतिष्ठान र भेरी कर्णाली लोक संस्कृति मञ्च सुर्खेतद्वारा संयुक्त रुपमा डेउडा मेला आयोजना गरेको थियो भने जुम्ली एकता सेवा समाज सुर्खेतले साउने संक्रान्ति विशेष कार्यक्रम राखेको थियो ।

सुर्खेतमा संस्कृति प्रतिष्ठान तथा मञ्चले डेउडा, हुड्ने नृत्य र भजन कार्यक्रम सञ्चालन गरेको थियो । यसरी नै सुर्खेत, जुम्ला खलंगालगायत माथिल्लो कर्णालीका सबै जिल्लामा देउडा खेलेर मनाइएको छ ।

कर्णालीको हुम्ला, मुगु, कालीकोट, डोल्पा, दैलेखमा पनि कतै पुरुष–पुरुष त कतै महिला पुरुष दुईतर्फ गोलो आकारमा डौडा लगाएर गीत गाउँदै शारीरिकरुपमा विभिन्न हाउभाउ देखाएर देउडा खेले ।

आज देउडा जुम्लाको सिंजा र कनकासुन्दरी गाउँपालिकामा पनि ऐतिहासिक स्वरुपमा आज सञ्चालन गरिएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । सिंजा गाउँपालिका अध्यक्षसमेत रहनुभएका अध्यक्ष धितालले भन्नुभयो, “देउडा एउटा साहित्य हो । मानिसको जनजीवनमा भएका घटना तथा समाजमा रहेको सबै वस्तुस्थितिलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने यो एउटा विधा भएकोले आज यसलाई विशेष महत्व दिएर मनाइएको छ ।”

संगीत र नृत्य दुवैको प्रतिनिधित्व देउडाले गर्ने भन्दै उहाँले यसले समाजको वास्तविकता बोल्ने र इतिहासको जगेर्ना गर्ने बताउनुभयो । अध्यक्ष धितालका अनुसार देउडाले गीत र मनोरञ्जनका माध्यमले बिगत सम्झाउँछ, वर्तमानमा आनन्द दिन्छ र भविश्यको दृष्टिगत गराउँछ ।

कर्णाली देउडा समाज जुम्लाका सचिव कर्ण बुढ्थापाले सुख–दुःख, हाँसो–आँसु, खुशी–पीडा गीत देउडा गीतका माध्यमबाट व्यक्त गरिने भएकोले कर्णालीमा यो लोकप्रिय हुँदै गएको बताउनुभयो । हरेक शुभ अवसरमा खेलिने देउडाले मानव जीवनका सबै पक्षहरुलाई गीत र तार्किक अभिव्यक्तिका माध्यमबाट व्यक्त गर्दछ,” सचिव बुढ्थापाले भन्नुभयो, “यो मानव जीवनको दर्पण हो ।”

त्यसैगरी, आज खीर, पनिर, तरकारी, अचारलगायतका मिठामिठा परिकार खाएर साउने संक्रान्ति मनाईने उहाँले बताउनुभयो । उहाँका अनुसार समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो–पुतो, रिस–राग, रोग–भोग, विकृति–विसंगति सकिएर जाओस् भन्दै आज साँझ राँको बाल्ने र अन्तमा जलेर सकिन लागेको राँकोसँगै विकृति र समस्याको कुटिरो (पोका) फालेर साउने सक्रान्ति मनाइएको छ ।

जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले राजधानी सुर्खेतमा दिनभर देउडा र आज बेलुका राँको जलाउँदै लुतो फालेर साउने संक्रान्तिको समापन गरिएकाे जनाउनुभयो । साउने संक्रान्ति पर्व देशभर मनाइरहँदा परम्परागतरुपमा मध्य तथा सुदूरपश्चिम खेलिने देउडा भने मध्यपश्चिम नेपालको कर्णाली प्रदेशले विगत तीन वर्षदेखि आजको दिनलाई देउडा पर्वका रुपमा मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्