OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २४, २०७९काठमाडौं
२९८ पटक

२४ असार २०७९, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’मा कुनै दुरासय नियत नभएको बताउनुभएको छ ।

प्रदेशसभाको आज बसेको दशौं अधिवेशनको १९औं बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै मुख्यमन्त्री शाहीले सरकारले राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी लिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रतिपक्षीसँग भएका सहमति अनुसार अगाडि बढेका छौं । मुख्यमन्त्रीले रोजगार कार्यक्रको बजेट कार्यकतामुखी बनायो भन्ने अब्जसले मन दुखाएको छ ।”

उहाँले कर्णाली विकासको लागि सबैको उत्तिकै दायित्व भएको भन्दै राम्रो काममा प्रशंसा र नराम्रो कामको खबरदारी गर्न प्रतिपक्षीलाई आग्रह गर्नुभयो । आगामी आव.२०७९÷०८० का लागि प्रदेश सरकारले मौलिक र यथार्थ बजेट ल्याएकोमा धन्यवाद दिन उहाँले आग्रह गर्नुभयो ।

माथिल्लो कर्णालीका हुम्ला, डोल्पा, मुगुलगायतका जिल्ला र सुर्खेतलाई समान बजेट विनियोजन कार्य वैज्ञानिक नहुने भन्दै समतामूलक तवरबाट बजेट तथा योजना निर्माण गर्ने मुख्यमन्त्री शाहीले बताउनुभयो । कृषिबाहेक अन्य कुनैपनि मन्त्रालयको योजना रु.१५ लाख भन्दा मुनिका नहुने उहाँको प्रष्टीकरण थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेशको सीमा पारिका जिल्लामा बजेट जाने अवस्थाले यहाँको सार्वभौम संसदको गरिमा बढाउन नसक्ने टिप्पणी गर्नुुभयो । “कर्णालीमा थोरै पैसाले धेरै काम गर्नुपर्ने अवस्था छ,” नेता कँडेलले भन्नुभयो, “चार वर्षको बजेट ठूलो तर उपलब्धि कम रहेको छ ।” प्रदेश योजना आयोग दुब्लाएको व्यङग्य गर्दै उहाँले सरकारलाई मागदर्शन गरेर प्रतिपक्षीले सहयोग पुर्याउँदै आएको जिकिर गर्नुभयो ।

मन्त्रालयगत बजेटमाथि छलफल प्रारम्भ

असार १२ गतेबाट रोकिएको सदन आजबाट सुरु भएपछि मन्त्रालयगत विनियोजन माथिको बजेटमा छलफल प्रारम्भ भएको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले निर्धारित तालिका अनुसार मन्त्रालयगतरुपमा विभिन्न शीर्षकमा छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरेसँगै आज आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेशसभा सचिवलायमाथिको बजेटमा छलफल भयो ।

छलफलमा प्रदेशसभा सदस्य दल रावल, पद्मा खड्काले भाग लिँदै सकेसम्म बजेट उत्पादनमुखी र दीर्घकालीन हुने गरी कार्यान्वयनमा लैजान सुझाउनुभयो । सभामा उठेका प्रश्नहरुको जवाफ भोलि (शनिबार) दिउसो १ः०० बजे बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरुले दिनुपर्ने सभामुख राजबहादुर शाहीले सूचना गर्नुभयो ।

प्रतिकृया दिनुहोस्