OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २२, २०७९सुर्खेत
८३० पटक

२२ असार २०७९, बुधबार

तातोपानी गाउँपालिका १ जुम्ला बाइराँका गाउँका दलबहादुर सार्की (दले) २४ वर्षपछि आफन्तको सम्पर्कमा आउनुभएको छ । ।

विसं.२०५५ सालमा घरबाट हिडेका दले २४ वर्षसम्म सम्पर्कविहिन हुनुहुन्थ्यो । उहाँ मंगलबार मात्र भारत हिमाञ्चल प्रदेश कुल्लु जिल्लाको मनाली भन्ने सहरमा भेटिनुभएको वैदेशिक रोजगारका लागि कतार गएका उहाँका भाई जगमुन सार्कीले जानकारी दिनुभयो ।

“यत्तिका वर्षसम्म दाई कहाँ हुनुहुन्थ्यो थाहा भएन,” जगमुनले भन्नुभयो, “कामका लागि भारतमा जानुभएको माइलो दाई कले सार्कीले भेटाउनुभएको छ । जेठो दाई भेटिएको खबरले निकै प्रफुलित बनायो । हिँजो नै दाईसँग भिडियो कलमै कुरा गरेर लामो समयसम्मको भातृप्रेमको धित मेटाएँ ।”

घरमा श्रीमतीसँग भएको झगडाका कारण बिरक्तिएर हिडेका उहाँलाई परिवारले लामो समयदेखि खोजी गर्दै आइरहेको थियो । दाजु घरबाट सम्पर्कविहिन भएपछि त्यसको लगत्तै भाउजुले नाबालक बच्चालाई छोडेर अर्कैसँग बिबाह गर्नुभएको जगुमानले बताउनुभयो ।

दलेको छोरा कृष्ण सार्की यतिबेला २५ वर्षको भइसक्नुभएको छ । तर छोरालाई आफ्ना बाबा हुनुहुन्छ भन्ने कुरा थाहा थिएन । कृष्ण यतिबेला घरमै हुनुहुन्छ । गाउँका सबैले कृष्णलाई बाबा मरिसक्नुभएको कुरा सुनाउथे । हुन पनि बाबाको अत्तोपत्तो थिएन । बाबा भेटिएको खबर सुनेका उहाँलाई कल्पना भन्दा बाहिरको कुरा जस्तो लागिरहेको छ ।

नाबालक अवस्थादेखि बाबा भन्न नपाएका कृष्णको आमाले अर्कैसँग बिबाह गरेपछि आमा बाबा भएर पनि उहाँ टुहुरा जस्तै हुनुभएको थियो । घरबाट हराएका दले लामो समयसम्म घर नफर्के पछि परिवारले पुनःमिलन हुने कुराको आश मारिसकेका थिए ।

कृष्णका अनुसार बाबा भेटिएको कुरा मनालीमा काम गर्न जानुभएको माइला बाबा कले सार्कीले जानकारी दिनुभएको थियो । त्यो खबरले अहिले उहाँको खुशीको सीमा छैन । कृष्णले बाबासँग फोनबाट कुरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाबासँग फोनमा कुरा गरे । मेरो बाबासँग बोल्न पाउँदा साँच्चिकै उहाँ स्वर्गबाट झरेजस्तो लागिरहेको छ । अब चाँडै नेपाल आउँछु भन्नुभएको छ ।”

कले सार्कीले काम गर्ने दौडानमा हिडिरहेको बेलामा दाई (दले)सँग भेट भएको बताउनुभयो । “दाई मनालीमा भेटिएपनि उहाँ लद्दाख बस्नु हुँदो रहेछ,” कलेले भन्नुभयो, “व्यवसायिक लाइसेन्स बनाउन आउनुभएको रहेछ । सौभाग्यवशः मनालीमा भेट भयो ।” भेट हुँदा शुरुमा उहाँले आफूलाई नचिनेको कलेले जनाउनुभयो ।

दलेले गाउँ, समाज र परिवार सबैको याद आएपनि कामको सिलसिलाले बिर्से जस्तो भएको अनुभूति राससलाई सुनाउनुभयो । “म ०५५ सालमा भारत छिरे । त्यतिबेला नेपालमा चरम द्वन्द्वको समय थियो । सहजै घर जान सक्ने अवस्था थिएन,” उहाँले भन्नुभयो, “पछिल्ला दिनहरुमा कसैसँग भेटघाट र फोन सम्पर्क हुन सकेन । बस्दा बस्दा वर्षौ बितेको पनि पत्तै पाइन ।”

भाइहरुका साथै छोरा कृष्णसँग कुरा भएको जनाउँदै उहाँले दुई÷तीन पछि नेपालगञ्जसम्म गएर पुनः भारत फर्कने र दशैंको समयमा घर परिवार भेटन जुम्ला पुग्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्