OnlinePana

आज : २०८२ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २१, २०७९
४०९ पटक

२१ असार २०७९, मंगलबार

कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद् पीडितहरुलाई रु.७८ लाख बीमा रकम उपलब्ध गरेको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिक २०७८÷०७९ को साउन १ गतेदेखि असारसम्म बाढी÷पहिरो, चट्याङ, आगलागी जस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतक परिवारका ३९ जना हकवालालाई रु.७८ लाख भुक्तानी गरेको हो । यहाँका १७ लाख नागरिकहरुलाई विपद् सामुहिक दुर्घटना बीमा गरे अनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

“अहिलेसम्म हामी कहाँ आएका ५३ विपद् पीडितहरु मध्य ३९ जनाले रकम प्राप्त गरिसकेका छन्,” सचिव भुसालले भन्नुभयो, “१४ मृतक परिवारलाई दिन बाँकी छ र उनीहरुको पनि अब छिट्टै भुक्तानी हुँदैछ ।” मृतक परिवार तथा स्थानीय तहबाटै कतिपय फाइलहरु ढिला आउँदा र विपद्बाट मृत्यु हुनेको संख्या थपिदै जाँदा पीडित सबैको एकैचोटी भुक्तानी हुन नसकेको उहाँले बताउनुभयो ।

राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशका प्रमुख शिवराज बिसीले ३९ मृतकका सबै खुल्ने कागजात आइसकेकोले सम्बन्धित हकवालाहरुलाई भुक्तानी गरिएको र पाँच जनाको केही कागजात नपुगेको बताउनुभयो । आठ जनाको भर्खरै आवश्यक कागजात प्राप्त भएकोले सबै प्रमाण हेरेर जतिसक्दो चाँडो भुक्तानी दिइने प्रदेश प्रमुख बिसीले जनाउनुभयो ।

आन्तरिक मामिला मन्त्रालय विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले चालु आव.०७८०÷७९ मा विपद्बाट सबैभन्दा बढी जाजरकोटमा १७ जनाको बाढी र पहिरोबाट ज्यान गएको जानकारी दिनुभयो । त्यस्तै, हुम्लामा बाढी, पहिरो र हावाहुरीबाट सात, कालीकोटमा पहिरो र भिरबाट खसेर पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

शाखा प्रमुख रोकायका अनुसार सुर्खेतमा बाढीबाट पाँच, जुम्लामा आगलागीबाट चार र रुकुमपश्चिममा बाढीबाट तीन, दैलेख दुई डोल्पामा पहिरो, मुगुमा हिम पहिरो र सल्यानमा चट्याङबाट एक÷एक जनाको मृत्यु भएको छ ।

प्रदेश सरकारको ‘विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि रु.दुई लाख र आवास बीमाअन्तरगत रु.पाँच लाख उपलब्ध गराउने उल्लेख छ । तर आवासको बीमा हालसम्म चालु नभएको जनाइएको छ ।

त्यसैगरी कार्यविधिमा कर्णाली प्रदेशमा स्थायीय बसोबास भएका नागरिकहरुको हकमा देशका जुनसुकै भूभागमा विपद्को घटनामा मृत्युमा मृतकका हकवालालाई बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ, भनिएको छ । त्यस्तै, नेपालको जुनसुकै स्थानमा स्थायी घर भई प्रदेशका सरकारी, गैर सरकारी संघ, संस्था वा अन्य निकायमा कार्यरत व्यक्तिहरुको समेत विपद् दुर्घटनाका कारण मृत्यु भएमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ ।

कार्यविधि बमोजिम जोखिमग्रस्त क्षेत्र आवास बीमाअन्तरगत बीमालेखले अग्नि, भूकम्प, बाढी÷जलमग्न, पहिरो÷जमीन धसिने वा भासिने, हावाहुरी, हिमताल तथा ज्वालामुखी बिस्फोटन, आँधीबेहरी, चट्याङ, शीतलहर, असिना, र भिरबाट लडेर हुने आकस्मिक दुर्घटना जोखिम विरुद्ध सुरक्षण प्रदान गर्ने उल्लेख गरिएको छ । यस अघि कोभिड–१९ बाट मृत्युभएकालाई पनि विपद् जोखिम दुर्घटना दिने भनिएपनि अहिले भने त्यो हटाइएको छ ।

प्रतिकृया दिनुहोस्