जुम्ला /असार २० गते । जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक स्थित थप सुदृढ गर्ने अभियान थालेको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा भएको शिक्षक दरवन्दी व्यवस्थापन, शैक्षिक उपलब्धी स्तर सुधार, प्रधानाध्यापक मिलान सहित शिक्षामा रहेको परीक्षा प्रणाली प्रतिको असन्तोष समाप्त गर्ने लक्ष्य लिए अनुसार पहिलो पटक विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, वालविकास केन्द्रका शिक्षिकाहरु सहित सरोकारवाला निकायहरुको उपस्थितिमा विद्यालयका शैक्षिक समस्याहरु तथा सुधार्न हुने बिषयमा बृहत अन्तरक्रिया तथा छलफल गरिएको छ ।
सिंजा गाउँपालिकाको आयोजनामा सिंजाको नराकोटमा शैक्षिक स्थिति सुधारका लागि शिक्षक तथा अभिभावकले सूझाव दिनुृभएको छ । शिक्षकहरुले विद्यालय संरचना निर्माणको अभाव, दरवन्दी अभाव तथा विभिन्न समस्याहरु आएका छन् ।
शिक्षकहरुले सरकारी शिक्षकले पोषाक लगाउन पाउने तर निजी शिक्षकलाई पोषाक समेत नभएको गुनासो गरेका छन् । शिक्षकहरुले केही विद्यालय पक्कि नभएका तथा हिलोले वालवालिका वस्न समस्या भएको गुनासो पोखेका छन् ।
शिक्षकहरुले गाउँपालिकाले थालेको अभियान राम्रो भएकाले प्रथामिकताको आधारमा शैक्षिक सुधार गर्न पूर्वाधार तथा अन्य बिषयमा जोड दिनुभयो ।
कालिका आधारभुत विद्यालय बिष्टवाडाका प्रधानाध्यापक गणेश प्रसाद सिम्खाडाले विद्यलायका कक्षाकोठा हिलो भएकाले वालवालिका बस्न समेत कठिन भएको बताउनुभयो । उहाँका अनुसार विद्यालयको कक्षाकोठामा बर्षाको पानी र र पहिरो आउने भएकाले समस्या भएको बताउनुभयो ।
कुलदेव आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कालीबहादुर खत्रीले घेरवार नभएकाले विद्यालयमा लगाईएको स्याउका ५० वटा रुखमा फलेका स्याउ समेत नष्ट भएको बताउनुभयो । तल्लो गोठी आधारभुत विद्यालय गाउँको विचमा भएकाले पशुचौपाया समेत छिर्ने गरेको बताउनुभयो ।
भैरव माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विर्ख सार्कीले विद्यालयको घेरवारको अभाव भएको बताउनुभयो ।
उपस्थित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले विभिन्न शिक्षा सवालका बिषयमा सुधार्न सूझाव दिएका छन् ।
शिक्षक र व्वस्थापन समितिको धारणा सुनेपछि गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजामा शिक्षा क्षेत्रको सुधारको शुरुवात गर्ने विन्दुको खोजी भईरहेको बताउनुभयो ।
उहाँले शिक्षकहरुले दिएका गम्भिर सवालहरुको समिक्षा गर्दै सामाधान गर्ने उपाएमा लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष धितालले शिक्षक अभिभावक र सरोकारवाला निकायहरुले दिएका असल टिप्सहरुको आधारमा सिंजाको शिक्षा क्षेत्रमा सुदृढ गरिने बताउनुभयो । उहाँले शैक्षिक उपलब्धी स्तर बढाउन प्रथामिकता दिईनेमा जोड दिनुभयो । यसका साथै असल शिक्षकको निरन्तर मुल्यांकन तथा सम्मान गरिने समेत बताउनुभयो ।
सिंजा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा सामाजिक विकास समितिको संयोजक तिर्थ वडले सिंजाका २२ वटा विद्यालयलाई कसरी शैक्षिक सुधार गर्ने भन्ने बिषय गाउँपालिकाको प्रथामिकता रहने बताउनुभयो । उहाँले गाउँपालिकाको शिक्षा सवाललाई थप सुदृढ गर्ने गर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाले गरेको शैक्षिक सुधार बिषयको अन्तरक्रियामा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सानो सानो बिषयमा शिक्षा क्षेत्रमा ध्यान दिन अनुरोध गर्नुभयो । अध्यक्ष शाहीले विद्यालय कक्षाकोठामा कार्पेट,सिलिङ, पानी, शौचालय र विद्यालय वातावरणमा ध्यान दिन सूझाव दिनुभयो ।