OnlinePana

आज : २०८२ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १७, २०७९
६३९ पटक

१६ असार २०७९, शुक्रबार

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले उच्च शिक्षाको पढाई अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिनुभएको छ ।

सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘शैक्षिक भवन समुद्घाटन, प्रतिमा÷सालिक अनवारण तथा हस्तान्तरण’ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री यादबले सूचना र प्रविधिको युगमा क्याम्पस तथा विश्वविद्यालयको पढाई सैद्धान्तिक ज्ञानमा सीमित राख्न नहुने सुझाव दिनुभयो । विद्यालय र क्याम्पसको सुधारविना विश्वविद्यालयको उन्नयन नहुने भन्दै उहाँले दक्ष, वैज्ञानिक तथा प्राविधिक जनशक्तिका लागि आधार बलियो हुनुपर्ने औंल्याउनुभयो ।

“पछिल्लो समयमा शिक्षक सेवा र त्रिविवि सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा अति न्यून जनशक्ति मात्र उत्तीर्ण भएको पाइन्छ,” राज्यमन्त्री यादवले भन्नुभयो, “यसबाट कतै हाम्रा क्याम्पस र विश्वविद्यालयहरुको पढाई कोरा सैद्धान्तिक ज्ञानमा मात्र सीमित भई पेशागत जीवनको वास्तविकतासँग मेल नखाएको हो कि ? प्रश्न उठ्छ ।”

आजको २१औं शताब्दीको शिक्षा र स्थानीय विज्ञानको मिलन गर्ने प्रविधिमा आधारित र सीपमूलक हुन आवश्यक रहेको विचार व्यक्त गर्दै आफ्नो स्वर्गीय पति भीमबहादुर मल्लको सम्झनामा बहुमुखी क्याम्पस सुर्खेतको शैक्षिक भवन निर्माण, छात्रवृति अक्षय कोषका लागि रु.एक करोड तीन लाख २८ हजार ८८२ दान गर्ने सुर्खेत निवासी कमला मल्लप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभयो ।

कमला समाजसेवाको एक बलियो उत्पेरणाको स्रोत भएको बताउनुभएका उहाँले शिक्षालाई अनुसन्धान र परियोजना कार्यमा आधारित गराउँदै ज्ञानलाई सीप, सीपलाई रोजगार र रोजगारलाई आर्थिक समृद्धिसँग जोड्ने गरी क्याम्पसको पठनपाठन र शैक्षिक क्रियाकलाप अगाडि बढाउन सुझाउनुभयो । राज्यमन्त्री यादवले आजै नेपाल सरकारको रु.दुई करोड ११ लाख लगानीमा निर्माण गरिने उक्त क्याम्पसको प्रशासकीय भवनको शिलन्यास गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्