OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०७९जुम्ला,
२६३ पटक

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने नीतिअनुसार नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९÷०८० का लागि ९ औँ नगरसभाबाट सार्वजनिक गरेको हो ।

चन्दननाथ नगरपालिका नगरप्रमुख राजु सिंह कठायतले नीति तथा कार्यक्रम नगर सभाबाट सार्वजनिक गरेका हुन् ।

नेपालको संविधान वर्तमान पञ्चवर्षीय योजना, नेपाल सरकार क्षेत्रगत नीति तथा कार्यक्रम, स्थानीय तहको वार्षिक योजना तथा बजेट दिग्दर्शन ०७४ अनुसार नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको उनले बताए ।

उनले भने स्थानीय निकाय श्रोत परिचालन तथा व्यथापन कार्यविधि ०६९, स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुसार नागरिकका आवश्यकता र जनचाहना अनुरूप नीति तथा कार्यक्रम ल्याएको छ ।

चन्दननाथ नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका तथा अन्तरपालिका जोड्न र पर्यटन प्रवर्द्धन गर्न केबुलकारको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ ।

सघन सौर्य सडक बत्ती जडान, सिसी क्यामेरा जडान, विमान स्थल स्तरोन्नति विस्तार गरी रिफियूल केन्द्र स्थापनाका लागि पहल गरिने जनाएको छ ।

नगरपालिकाभित्र रहेको तिला नदीदेखि कर्णाली प्राविधिक शिक्षालयसम्म जुगाड खोलाको दुवै तर्फका स्थानमा पैदल तथा साइकल लेन विस्तारको योजना बनाएर कार्यान्वयन गरिने छ । भ्रष्टाचारलाई शून्य सहनशीलतामा झारी आर्थिक मितव्ययिताको नीति लागु गरिने जनाएको छ ।

३३ केभिए राष्ट्रिय प्रसारण लाइनको विस्तारका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, भौतिक विकास, व्यवस्थित शहरीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, महिला तथा बालबालिकाको अधिकार संरक्षण र प्रवर्द्धन, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य र कृषि क्षेत्रको विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम ल्याएको नगर प्रवक्ता नवराज देवकोटाले बताए ।

चन्दननाथको ५६ करोड बढीको बजेट 

चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले आगामी आर्थिक वर्षका लागि चन्दननाथको ५६ करोड ६ लाख ५३ हजारको बजेट सार्वजनिक गरेकी छन् ।

बहुवर्षीय गौरवका आयोजना  तथा फोहोरमैला व्वस्थापनका लागि १३ करोड २६ लाख ७१ हजार, शिक्षा तथा खेलकुदतर्फ १५ करोड ४९ लाख, जनप्रतिनिधिको सेवा सुविधा तलब भत्ता, गोष्ठी सेमिनारका लागि ११ करोड ५० लाख बजेट सार्वजनिक गरिएको छ ।

यस्तै, स्वास्थ्यतर्फ २ करोड ६८ लाख, कृषितर्फ ६९ लाख, वन पर्यटन उद्यमतर्फ ३० लाख, ऊर्जा तर्फ १२ लाख, खानेपानी तथा सरसफाइतर्फ ४१ लाख, जलवायु परिवर्तनतर्फ १ करोड २४ लाख, पोषणतर्फ १७ लाख बजेट छ ।  शहरी विकासतर्फ ४ करोड १५ लाख, लैङ्गिक समानता तथा समावेशीकरणतर्फ २० लाख, श्रम तथा रोजगारतर्फ ७२ लाख, भौतिक तथा पूर्वाधार निर्माणतर्फ पाँच करोड ११ लाख ८२ हजार छ ।

प्रतिकृया दिनुहोस्