OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७९सुर्खेत
३१६ पटक

४ असार २०७९ शनिबार

कृषि विकास कार्यालय मुगुका लागि चालु आव.०७८÷०७९ मा कृषि सिंचाई योजनाका लागि विनियोजित रु.तीन करोड ४८ लाख बजेट फ्रिज भएको छ ।

कृषि सिंचाई योजनाका ६८ योजना मध्ये दुईवटा योजनाबाहेक ६६ वटा योजनाको रु.तीन करोड ४८ बजेट फ्रिज हुन पुगेको हो । रु.१५ लाख भन्दा मुनिका योजना रोक्न परिपत्र गर्दै प्रदेश सरकारले गत माघ महिनामा निर्देशनात्मक परिपत्र गरेका कारण योजना कार्यान्वयनमा नआएर बजेट फ्रिज हुने अवस्थामा गएको कृषि विकास कार्यालय मुगुका सूचना अधिकारी टेकबहादुर खत्रीले राससलाई जानकारी दिनुभयो ।

“मुगुका लागि कर्णाली प्रदेश सरकारले कृषि सिंचाईका ६८ योजनाका लागि रु.तीन करोड ६१ लाख बजेट पठाएको थियो,” सूचना अधिकारी खत्रीले भन्नुभयो, “पछि ती सबै योजनाको काम रोक्न निर्देशन भएपछि योजना कार्यान्वयन प्रक्रिया अन्यौल गयो ।” छायाँनाथ रारा नगरपालिकाको २ मा रु.आठ लाखको डाँडाखोला लुवारसिम दलित बस्ती समुह र वडा नं. ५ मा रु.पाँच लाखको गाडापानी कृषि सिंचाई योजना सम्पन्न भएको उहाँले बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिका बाहेक यहाँका अन्य स्थानीय तहमा बजेट गएर पनि कृषि सिंचाईका योजना लागु नहुँदा नागरिकहरु मर्कामा परेको मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य झोवा विकले बताउनुभयो । “नेताहरुको आडम्बरले जनताको अधिकार खोसियो,”सदस्य विकले भन्नुभयो, “अब जनताले हामीले चुनेको जनप्रतिनिधिले हाम्रो निम्ति विकास गर्छ भनेर कसरी पत्याउने ?”

आफूले जनताले सम्झौता गरेको योजनामा यसो गर्नु हुन्न भनेर सरकार र सदनलाई भनेको उहाँले बताउनुभयो । चारवटा स्थानीय तह भएको मुगु जिल्लाका खत्याड, सोरु र मुगुम कार्मारोङ जस्ता दुर्गम गाउँपालिकाका जनताहरु भने कृषि सिंचाईका योजना सम्झौता गरेर पनि काम गर्न नपाउँदा मर्कामा परेका छन् ।

कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख खेमराज शाहीले सरकारकै निर्णयले लाखौंका योजना कार्यान्वयन आउन नसकेको बताउनुभयो । एक त मुगुको विकट भूगोल, अपर्याप्त जनशक्तिले काम गर्न सहज छैन, कार्यालय प्रमुख शाहीले भन्नुभयो, अर्कोतिर काम गर्ने समयमा रोकुवा र आर्थिक वर्षको अन्तमा आएर फुकुवा गर्ने तरिकाले बजेट खर्च प्रगति बढ्ने कुरै भएन ।

प्रतिकृया दिनुहोस्