OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २९, २०७९काठमाडौं
१२८४ पटक

२९ जेठ २०७९ आइतबार 

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरे ।

‘हामीलाई असाध्यै हामीलाई हेपेर योजना बनाइएको छ । कहाँबाट कर्मचारीलाई कमिसन खुवाएर हो वा के भएर हो (कर्णालीमा) ५–६ वटा छिरेको छ’ उनले भने, ‘जो जो पावरफुल मन्त्री छन्, उनीहरुकोमा गन्नै नसकिने योजना छ ।’

उनले शहरी विकास मन्त्रालयको योजना मन्त्रीहरुको सेटिङमा बनेको पनि आरोप लगाए । ‘शहरी विकासका योजना मन्त्रीहरुको सेटिङमा बनेको छ । यसो हेर्दा मन्त्रीको आयु अनुसारको योजना बनेको पनि देख्छु’ उनले भने ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद महतले दुर्गमका बिरामीलाई अस्पतालसम्म आउँदाको यातायात खर्चमा अनुदान दिनुपर्ने बताए । कर्णालीबाट काठमाडौंसम्म उपचार गर्न आउँदा ४०–५० हजार खर्च हुने गरेको भन्दै मन्त्री महतले यो भाडामा ५० प्रतिशत वा २५ प्रतिशत अनुदान दिनुपर्ने माग गरे ।

उनले काठमाडौंमा बस्ने मन्त्रीहरुले दुर्गमको पीडा नबुझ्ने पनि टिप्पणी गरे । ‘तपाईहरु त जुन हस्पिटल गए पनि भइहाल्यो रोजीछाडी छ, मेडिसिटी जानुहुन्छ कि, वीर, टिचिङ, पाटन जानुहुहुन्छ कि ? हामीलाई कहाँ छ ?’ उनले भने, ‘मुगुबाट जुम्ला आउन २५ ३० हजार भाडा बुझाउनुपर्छ, जुम्लाबाट काठमाडौं आउँदा ४०–५० हजार खर्च हुन्छ । त्यो भाडा कसले व्यहोर्ने ?’

सांसद महतले दुर्गमका वासिन्दाले घर खेत बेचेर उपचार गर्छु भन्दा पनि नपाउने भन्दै सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

‘हाम्रो त घरखेत पनि किन्दैनन् । तपाईहरुको काठमाडौंको जग्गा पो आँखा कान चिम्लेर किन्छन्, हाम्रो जग्गा त किन्दा पनि किन्दैनन्’ उनले भने, ‘हुनत नीति तथा कार्यक्रम गइहाल्यो, बजेट बनिहाल्यो, तर अहिले सुनाउँदा भोलिसम्म तपाईहरुको दिमागमा आउँछ कि ? दुर्गम क्षेत्रका मान्छेलाई ५० प्रतिशत वा २५ प्रतिशत बिरामीले भाडा पाउनुपर्‍यो ।’

उनले सरकारले बजेटमा घोषणा गरेको मृगौला प्रत्यारोपण निशुल्क हुने व्यवस्था साउन १ देखि नै कार्यान्वयन गर्नुपर्ने माग गरे । ‘कर्मचारीले खाइहाल्ने तपाईं हामीले खाइहाल्ने बिरामीले नपाउने भन्ने हुँदैन, मन्त्रीज्यू जाँदाजाँदै होस् या रहँदा होस् यो गरेर जानुस्’ सांसद महतले भने ।

उनले सरकारी अस्पतालमा बिरामीलाई निशुल्क खाना खुवाउन पनि माग गरे । अनलाइन खबरबाट ।

प्रतिकृया दिनुहोस्